बुटवल,१३ मंसिर ।
चितवनमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट लुम्बिनी प्रदेशका दुई पदाधिकारीसहित १७ जना केन्द्रीय कमिटीमा निर्विरोध भएका छन् ।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेल महासचिव र प्रदीप ज्ञवाली उपमहासचिव निर्विरोध भएका हुन् ।

त्यस्तै लीला गिरी, भूमिश्वर ढकाल, हरि रिजाल,दिनेश पन्थी, खेममान खड्का र नवीन रोका मगर केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् ।

त्यस्तै तीन जना महिला कोटामा तीन जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू पनि निर्विरोध भएका छन् ।

निर्विरोध हुनेमा मेनका पोखरेल, सरिता खनाल भुसाल र सावित्रा अर्याल रहेको एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनामा जनाइएको छ ।
त्यसैगरी श्रमिकको कोटाबाट कमल गौतम पनि केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् ।

त्यस्तै केन्द्रीय अनुशासन आयोगको उपाध्यक्षमा रुपन्देहीका नेत्रप्रसाद पन्थी पनि निर्विरोध भएका छन् । सदस्यमा पाल्पाका झपेन्द्रबहादुर जिसी, रुपन्देहीका डा. कृष्ण न्यौपाने र तुलसीप्रसाद चौधरी पनि निर्विरोध भएका छन् । केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी पनि निर्विरोध भएका छन् ।

एमालेको विधान अनुसार हरेक प्रदेशमा भूगोल तर्फको खुला अन्तर्गत पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटा निर्धारण गरिएको छ । ओलीले यही अनुसार हरेक प्रदेशमा नौ–नौ जनाका दरले सिफारिस गरेका थिए ।
तर, हरेक प्रदेशबाट विधानले तोकेको कोटाभन्दा बढी उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ मा ९ जना केन्द्रीय सदस्यको कोटामा १२ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, बागमती प्रदेशमा ९ सिटमा ११ जनाको उम्मेदवारी परेको छ भने कर्णालीमा १० जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिममा ९ सिटमा थप तीन पुरुष र तीन महिला गरी १५ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी समावेशी कोटातर्फका क्लस्टरमा समेत बढी उम्मेदवारी परेका कारण चुनावमा जानुपर्ने भएको हो । सम्पर्क समन्वय क्लस्टरमा दुई जनाको कोटा रहेकोमा तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, आदिवासी जनजाति खुलातर्फ १७ जनाको सिटमा १९ जनाको उम्मेदवारी परेको छ । त्यस्तै जनजाति महिलातर्फको ८ जनाको सिटमा ९ जनाको उम्मेदवारी परेको छ ।

मधेसी क्लस्टरमा १३ जनाको सिट रहेकोमा १५ जनाको उम्मेदवारी परेको छ भने दलिततर्फ ८ जनाको सिटमा ११ जनाको उम्मेदवारी परेको छ ।

एमालेको विधानले थारुतर्फ ५ जना पुरुष र तीन जना महिलाको कोटा तोकेको छ । यसमा पनि एकजनाको बढी उम्मेदवारी परेको छ । मुस्लिमतर्फ ५ जनाको सिटमा ७ जनाको र पिछडिएको क्षेत्रमा महिलासहित ४ जनाको सिटमा ६ जनाको उम्मेदवारी परेको छ ।