Share this News on Social Networking Pages

रौतहट,२५ मंसिर ।
रौतहटमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालीकास्थित राजमार्गमा मंगलबार बिहान बा १६ च ३१६२ नम्बरको स्कार्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

बाराको प्रसिद्ध गढिमाई दर्शन गरेर आफ्नो घर सिराहा फर्कँदै गरेका यात्रु सवार स्कार्पिओ पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा अनियन्त्रित भई सडकबाट दाहिने साइडको तल रुखमा ठोक्किएर दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० बर्षिया लरुवती देबि महरा, ३० वर्षिया उर्मिला महरा, ५० वर्षिया रामकुमारी महरा, ५५ वर्षिया महगीं देविआ. महरा, ६२ वर्षिया फुलमन्ति देवि चमार, ६० बर्षिया रामकुमारि देवि महरा, ३० बर्षिया सकुन्तला देवि महरा र ४० वर्षिया स्कार्पिओ चालक श्रीकुमार यादव रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

१३ जना सबार रहेको स्कारपियो दुर्घटना हुँदा ५ जना भने घाइते भएका छन् । दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरूको शव पोस्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।