बुटवल,२८ बैशाख ।
बुटवलमा आजदेखि रुपन्देही जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुरु भएको छ ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीका अध्यक्ष सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पाण्डेयले खेल विकासमा सहकार्य जरुरी रहने बताए । तीन तहकै सरकार र सरोकारवालाहरुबाट सहकार्य भए खेल विकाससंगै खेलाडीलाई ब्यवसायिक बनाउन सकिने उनको दाबी छ । देशभर नै अहिले क्रिकेट खेलको आर्कषण बढेका कारण यो खेल प्राथमिकतामा पर्ने गरेको उनले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षा र स्वास्थ्य क्षेत्रमा पालिकाबाट बजेट बिनियोजनसहित धेरै कामहरु भएको दाबी गरे । खेल गतिविधि र पूर्वाधारमा प्रत्येक वर्ष ५ करोड बराबर बजेट बिनियोजन गरेको उनले बताए ।
कार्यक्रममा उपमेयर सावित्रादेवि अर्याल, वडा नं ५ का हरिप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, न्यू होराईजन ई बोर्डिङ स्कुलका प्राचार्य बासुदेव अर्याल,बुटवल नगर खेलकुद विकास समितिका सदस्य प्रेमबहादुर बस्नेतलगायतले स्थानिय स्तरमा गरिने प्रतियोगिताको महत्वबारे प्रकाश पारेका थिए । एन्फा एकेडेमी खेलमैदानमा एथ्लेटिक्स अन्तरगत भएको १५ सय मिटर दौडमा सियारीका सचिन कुर्मी प्रथम स्थान हासिल गरेका छन । उनले ४ मिनेट ३८ सेकेण्डमा दुरी पार गरेका हुन ।
यसैगरि बुटवल उपमहानगरपालिकाका आयुष सारु ४ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा गैडहवाका सर्वजित चमारले ४ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन । यसैगरि छात्रातर्फ तिलोत्तमाका चाँदनी पासी ५ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै प्रथम भईन ।
देवदहकी आयुष्मा खत्री ६ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा सुद्धोधनकी सुप्रिया पुन ६ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरिन ।
यसैगरि छात्र–छात्रा कबड्डी प्रतियोगिता रुपन्देही जिल्ला खेलकुद विकास समितिको कबड हल, तेक्वान्डो खेलहरू नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय तथा कराते दीप बोर्डिङ स्कुल, छात्र भलिबल न्यु होराइजन बोर्डिङ स्कुलको खेलमैदानमा तथा छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदानमा गर्ने ब्यवस्था मिलाइएको बुटवल नगर खेलकुद विकास समितिका सदस्य प्रेमबहादुर बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा रुपन्देहीका १६ पालिकामध्ये बुटवल उपमहानगर, तिलोत्तमा, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, शुद्धोधन, कञ्चन, मायादेवी र सियारी गाउँपालिका ६९० जना छात्र र ६९० जना छात्रा गरि कुल १३८० जना खेलाडीहरुको सहभागिता रहेको छ ।






