काठमाडौँ,२४ कार्तिक ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा समेटियो ।

यस जितसँगै सुदूरपश्चिमले ६ खेलमा चौथो जित हात पारेको छ । आठ अङ्क जोडेको टोली अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समान अङ्क भए पनि सुदूरपश्चिम शीर्ष स्थानको काठमाडौँ गोर्खाजभन्दा रनरेटमा पछि छ । यो जितले सुदूरपश्चिमको प्लेअफ यात्रा थप बलियो बनाएको छ ।

पहिलो संस्करणको च्याम्पियन जनकपुर भने ६ खेलमा चौथो हार बेहोर्दै चार अङ्कसहित पाँचौँ स्थानमा छ । यस हारले जनकपुरको प्लेअफ सम्भावनामा धक्का लागेको छ ।

१२१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरको ब्याटिङ चल्न सकेन । उसका लागि तृतराज दासले सर्वाधिक २१, जिमी निसमले २० र आदित्य महताले १० रन बनाए। ११औँ नम्बरमा ब्याटिङ गर्न आएका राहुल यादवले ११ रन जोडे ।

अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओपनर अनिल शाह दुई, ह्यारी टेक्टर एक, रायन बर्ल आठ, विशाल सुशलिङ दुई, कप्तान हरमीत सिंह चार र अभिषेक तिवारी दुई रनमा आउट भए। ललित राजवंशी पनि रन जोड्न नसकी आउट भए ।

जनकपुरको इनिङ्समा जिमी निसम र ललित राजवंशीले नवौँ विकेटका लागि गरेको २० रनको साझेदारी नै सबैभन्दा ठूलो रह्यो। सुदूरपश्चिमका स्कट कुगेलेइनले तीन विकेट लिए। हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनाएको थियो । उसका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।

थरिन्दु रत्नायकेले २८ बलमा एक चौका र दुई छक्कासहित अविजित २७ रन जोडे । आरिफ शेखले ११ तथा ओपनर सैफ अली जैब र विनोद भण्डारीले समान १० रन बनाए ।

जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे । सुदूरपश्चिमको इनिङ्समा यही नै सबैभन्दा ठूलो साझेदारी बन्यो। त्यसपछि नियमित अन्तरमा विकेट गुमाएको टोली ठूलो योगफल बनाउनबाट रोकियो ।

जनकपुरका कप्तान हरमीत सिंहले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १७ रन खर्चेर चार विकेट लिए । ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट हात पारे । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आयरल्यान्डका टेक्टरले चार ओभरमा नौ रन मात्रै खर्चिए ।

लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ । जनकपुरले भने अन्तिम खेल चितवन राइनोजसँग खेल्नेछ ।