बुटवल,२४ कार्तिक ।
रुपन्देहीमा पटका पड्काउने क्रममा एक जना घाइते भएका छन् । पटका पड्काएर आतिशबाजी गरेको आराेपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्तिक २३ गते राति रुपन्देहीको कञ्चन गाउँपालिका–१ स्थित हात्तीबजार चोकमा लालिगुँरास युवा क्लबले भैलो खेलिरहेको समयमा पटका पड्काउँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटनामा संलग्न कपिलवस्तुको बाणगंगा नगरपालिका–२ निवासी कृष्ण परियार र आर्यन परियारलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । घाइतेको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा पटका पड्काएर आतिशबाजी गरिरहेको अवस्थामा प्रहरीले थप पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा रुपन्देहीको रोहिणी गाउँपालिका–३ का किसन मिश्र, रोहिणी–४ का पञ्चम हरिजन, रोहिणी–१ का अंगत कुमार कहार, सिद्धार्थनगर नगरपालिका–४ का हेमसल बरई र बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका सन्देश परियार रहेका छन् ।
नियन्त्रणमा लिइएका सबैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।






