काठमाडौँ,१ असाेज ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बताएका छन् ।

काठमाडौ स्थित एक पडकास्टमा उनले संसद् भवनमा रहेको वाणिज्य बैंकको शाखामा कार्यालयबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन चोरी भएको बताएका हुन् ।

गभर्नर पौडेलले भने, ‘एक ठाउँमा गम्भीर लुटपाट भएको छ। संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड नगद र १८ किलो सुन चोरी भएको छ ।’

प्रदर्शनपश्चात् गभर्नर पौडेलले भदौ २६ गते संसद् भवनस्थित सो शाखाको अनुगमन गरेकाे जनाइएको छ । प्रारम्भिक अनुसन्धानमा लकरसहित शाखा कार्यालयमा तोडफोड र लुटपाट हुँदा करोडौँको क्षति भएको पुष्टि भएको छ ।