काठमाडौं,३ मंसिर ।
हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो/हुस्सु लागेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाको पुर्वानुमान छ ।