काठमाडौँ,२ मंसिर ।
ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ रहेका छन् ।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न निकायबाट प्राप्त पत्र तथा विकास रनाभाटसमेतको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो ।

नेपाल सरकार र मलेसिया सरकारबिच भएको समझदारी (एमओयू) विपरीत गैरकानुनी रूपमा ठगी गरी रकम संकलन गरिएको प्रहरीको भनाइ छ । संकलित रकममध्ये अमेरिकी डलर र बेलायती पाउन्ड गरी ठुलो परिमाणको रकम मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको आरोप छ ।

प्रहरीका अनुसार सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराइएको थियो । यसबाट देशको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने निर्णय गरी संगठित समूहको लाभका लागि पद तथा जिम्मेवारीको दुरुपयोग गरिएको आरोप उनीहरूमाथि छ ।

कानुनी उपचार नगरी गैरकानुनी रूपमा संकलन भएको रकम मलेसिया पठाउने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको सीआईबीले जनाएको छ ।

उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।