काठमाडौं,१ मंसिर ।
लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न पहिलो क्वालिफायर खेलमा साविक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलको टिकट काटेको हो ।

अर्कोतर्फ पराजित सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर २० बल बाँकी छँदै भेट्टायो ।

लुम्बिनीले पहिलो ओभरमै विकेट गुमायो । ओपनर डार्सी शर्ट खाता नै नखोली पभेलियन फर्किए । उनलाई सुदूरपश्चिमका स्कट कुगलेइनले आउट पारे ।

दोस्रो ओभरको दोस्रो बलमा आसिफ शेखले जीवनदान पाए । हेमन्त धामीको बलिङमा अविनाश बोहराले क्याच मिस गरे । छक्का प्रहार गर्ने प्रयास गरेका शेखको बलले उचाई लिएन र झन्डै उनी सस्तैमा आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका निरोशन डिकवेलाले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीलाई अघि बढाए । उनले तेस्रो ओभरमा लगातार तीन चौका र एक छक्का प्रहार गरे ।

३.२ ओभरमा लुम्बिनीले दोस्रो विकेट गुमायो । आसिफ शेख ८ बलमा ४ रनमात्रै बनाएर पभेलियन फर्किए । हेमन्त धामीको बलिङमा दीपेन्द्र सिंह ऐरीले कुनै गल्ती नगरी उत्कृष्ट क्याच लिए ।

लुम्बिनीले पावरप्लेमा २ विकेट गुमाएर ३८ रन बनायो । डिकवेला र कप्तान रोहित पौडेलले इनिङ्स सम्हाल्दै लुम्बिनीलाई जिततर्फ अघि बढाए ।

यी दुईको साझेदारी सुदूरपश्चिमका थरिन्दु रत्नायकेले तोडे । रोहित २८ बलमा २१ रन बनाएर आउट भए । एक छेउबाट डिकवेलाले अर्धशतकीय पारी खेल्दै लुम्बिनीको जितमा महत्त्वपूर्ण योगदान दिए । उनले अविजित ५९ रनको योगदान दिए ।

पाँचौं नम्बरमा ब्याटिङमा आएका सन्दीप जोराले १३ बलमा ८ रनमात्रै बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई तथा हेमन्त धामी र स्कट कुगलेइनले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन जोड्यो ।

सुदूरपश्चिमले पहिलो ओभरमै पहिलो बलमै विकेट गुमायो । डेब्यु गरेका स्कटिस ओपनर जर्ज मन्से रुबेन ट्रम्पलमानको बलमा गोल्डेन डक भई आउट हुन पुगे ।

दोस्रो ओभरको अन्तिम बलमा बिनोद भण्डारीले जीवनदान पाए । लङ शट प्रहार गर्न प्रयास गरेका भण्डारीको लुम्बिनीका अभिशेष गौतमले क्याच मिस गरे ।

सुदूरपश्चिमले २.५ ओभरमै दोस्रो विकेट गुमायो । ट्रम्पलमानले लुम्बिनीलाई दोस्रो सफलता दिलाउँदै थनुका दबारेलाई पभेलियनको बाटो देखाए । उनले ८ बलमा ३ रनमात्रै बनाए ।

त्यसपछि सुदूरपश्चिम थप दबाबमा आयो । बिनोद भण्डारी पनि ३ रनमै आउट हुन पुगे ।

सुदूरपश्चिमको सुरुवात सुस्त र खराब रह्यो । टोलीले पावरप्लेमा ३ विकेट गुमाएर २० रनमात्रै जोड्यो । रन बनाउन संघर्षरत सुदूरपश्चिमले ४ को रनरेटमा ब्याटिङ गर्दै १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४० रनमात्र बनायो ।

चौथो नम्बरमा ब्याटिङमा आएका ईशान पाण्डे र पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले सुदूरपश्चिमको इनिङ्स सम्हाले ।

१२ ओभरपछि दीपेन्द्र र ईशानले हात खोल्न थाले । १४ औं ओभरमा सुदूरपश्चिमलाई झट्का लाग्यो । पाण्डे रनआउट हुन पुगे । उनले ३३ बलमा २७ रन जोडे ।

त्यसपछि ब्याटिङमा आएका थारिन्दु रत्नायकेको ब्याट पनि चल्न सकेन । उनी ५ बलमा १ रनमात्रै बनाएर पभेलियन फर्किए । दीपेन्द्रले संयमित ब्याटिङ गर्दै ४५ बलमा अर्धशतक बनाए । उनले ५१ बलमा ५२ रन जोडे । सुदूरपश्चिमको ब्याटिङ लाइन फ्लप भयो । ऐरी र पाण्डेले बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलमान र शेर मल्लले दुई दुई तथा अभिशेष गौतमले र किशोर महतोले एक एक विकेट लिए ।