काठमाडौं,१ मंसिर ।
पशु वधशाला तथा मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा आएको छ ।
जारी भएको २८ वर्षपछि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यन्वयनमा आएको हो । पहिलो चरणमा काठमाडौंका उपत्यका जिल्लाहरु काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा यो ऐन कार्यान्वयनमा आएको छ ।
उपभोक्ताको स्वास्थ्य सुरक्षा र स्वच्छ मासुको उपलब्धता सुनिश्चित गर्न सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशित गरी देशभर तीन चरणमा ऐन लागु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
सोही कार्यतालिका अनुसार आज मङ्सिर १ गतेदेखि पहिलो चरणमा उपत्यकाका २१ स्थानीय तहमा ऐन लागु भएको हो । ऐन कार्यान्वयनमा आएसँगै जथाभाबी पशु वध गर्न र मासु बेच्न पाइने छैन । तोकिएको वधशालामा पशु वध गर्नुअघि र वध गरिसकेपछि पशु चिकित्सक र प्राविधिकबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने छ ।
परीक्षणबाट खानयोग्य प्रमाणित भई ‘स्वस्थ मासु’ को छाप लगाइएको मासु मात्र बजारमा बिक्री–वितरण गर्न पाइने कानुनी व्यवस्था गरिएको छ ।
पहिलो चरणमा लागु भएका २१ वटा स्थानीय तहले नै यो ऐन लागु गर्नका लागि आवश्यक तयारी गरिरहेका छन् । पशु सेवा विभागका आज काठमाडौँको भ्याली कोल्डस्टोर र भक्तपुरको वधशालाबाट मासुमा ‘स्वस्थ’ छाप लगाउने कार्यको औपचारिक शुभारम्भ गरिनेछ ।







