काठमाडौं,१ मंसिर ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो क्वालिफायर अन्तरगत जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन जोड्यो ।

सुदूरपश्चिमले पहिलो ओभरमै पहिलो बलमै विकेट गुमायो । डेब्यु गरेका स्कटिस ओपनर जर्ज मन्से रुबेन ट्रम्पलमानको बलमा गोल्डेन डक भइ आउट हुन पुगे ।

दोस्रो ओभरको अन्तिम बलमा बिनोद भण्डारीले जीवनदान पाए । लङ शट प्रहार गर्न प्रयास गरेका भण्डारीको लुम्बिनीका अभिशेष गौतमले क्याच मिस गरे ।

सुदूरपश्चिमले २.५ ओभरमै दोस्रो विकेट गुमायो । ट्रम्पलमानले लुम्बिनीलाई दोस्रो सफलता दिलाउँदै थनुका दबारेलाई पभेलियनको बाटो देखाए । उनले ८ बलमा ३ रनमात्रै बनाए ।

त्यसपछि सुदूरपश्चिम थप दबाबमा आयो । बिनोद भण्डारी पनि ३ रनमै आउट हुन पुगे ।

सुदूरपश्चिमको सुरुवात सुस्त र खराब रह्यो । टोलीले पावरप्लेमा ३ विकेट गुमाएर २० रनमात्रै जोड्यो । रन बनाउन संघर्षरत सुदूरपश्चिमले ४ को रनरेटमा ब्याटिङ गर्दै १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४० रनमात्र बनायो ।

चौथो नम्बरमा ब्याटिङमा आएका ईशान पाण्डे र पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले सुदूरपश्चिमको इनिङ्स सम्हाले ।

१२ ओभरपछि दीपेन्द्र र ईशानले हात खोल्न थाले । १४ औं ओभरमा सुदूरपश्चिमलाई झट्का लाग्यो । पाण्डे रनआउट हुन पुगे । उनले ३३ बलमा २७ रन जोडे ।

त्यसपछि ब्याटिङमा आएका थारिन्दु रत्नायकेको ब्याट पनि चल्न सकेन । उनी ५ बलमा १ रनमात्रै बनाएर पभेलियन फर्किए । दीपेन्द्रले संयमित ब्याटिङ गर्दै ४५ बलमा अर्धशतक बनाए । उनले ५१ बलमा ५२ रन जोडे । सुदूरपश्चिमको ब्याटिङ लाइन फ्लप भयो । ऐरी र पाण्डेले बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलमान र शेर मल्लले दुई दुई तथा अभिशेष गौतमले र किशोर महतोले एक एक विकेट लिए ।

यो खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।