जनकपुरधाम,३ मंसिर ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ ।

आयोगले सार्वजनिक सूचना जारी गर्दै आयोगको मंसिर २ गतेको निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जानकारी दिएको हो ।

आयोगका अनुसार विसं २०७९ सालको स्थानीय तहको निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भनी पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएको थियो । सोही आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद रिक्त भएको सूचना प्रकाशन गरिएको आयोगले स्पष्ट पारेको छ ।

पद रिक्त भएका जनप्रतिनिधिहरूमा लहान नगरपालिका सिरहाका उपप्रमुख राम चरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका वडा नं ७ का वडा अध्यक्ष विजय कुमार महतो रहेका छन् ।

त्यस्तै पर्सा स्थित कालिकामाई गाउँपालिका वडा नं १ का वडा अध्यक्ष लालबाबु राउत बरै र सोही गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष संजय कुमार पटेल, खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरु राज राई रहेका छन् ।

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नाल सहित सोही नगरपालिका वडा नं १० का वडा अध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता विक तथा वडा सदस्यद्वय रामधन राई र शहर मनी राई, इलाम माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ्ग र सन्दकपुर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष ढाल बहादुर गुरुङ्ग,भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बाल चन्द्र राई, उदयपुर लिम्चुङबुङ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष छत्र बहादुर राई रहेका छन् ।