काठमाडौं,१ असाेज ।
नेपाल प्रहरीले बिल बिनाका सामान खरिदबिक्री नगर्न अनुरोध गरेको छ । बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति जारी गर्दै बिल बिनाका सामान किनबेच नगर्न अनुरोध गरेकाे हो ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते उपत्यकालगायत देशका विभिन्न ठाउँमा सरकारी कार्यालय,बैंक वित्तीय संस्थाहरू,व्यापारिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजनी तोडफोड गरी लुटपाट भएका छन् ।

आन्दोलनका क्रममा सुन, चाँदी, हिरालगायत बहुमूल्य सरसामान समेत लुटिएका र त्यस्ता सामान बिक्री गर्न आउनसक्ने भन्दै बिना बिलका सामान नकिन्न प्रहरीले अनुरोध गरेको छ ।

लुटिएका सामानहरू खरिद गरेको पाइएमा त्यस्ता व्यक्तिमाथि कडा कारवाही हुने प्रहरीले चेतावनी समेत दिएको छ । साथै प्रहरीले लुटिएका सामान बिक्री गर्न आएमा प्रहरीलाई तुरून्त खबर गर्न पनि आग्रह गरेको छ ।