काठमाडौँ,२८ असार ।
आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन माैसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभरकाे माैसम सामान्य बदली भई बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ । उच्च–पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको जनाउँदै महाशाखाले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जनाएको छ ।

जसको प्रभावले हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ । केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टामा सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम देखिएको उल्लेख गर्दै शहरी र तराई क्षेत्रहरूमा डुबानको खतरा बढ्न सक्ने चेतावनी दिएको छ । यसका कारण ठूला–साना नदी, नाला र खोलाहरूमा पानीको सतह उच्च हुन सक्ने, साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासको निर्माणकार्य, सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ ।