काठमाडौं,५ साउन ।
क्युबामा ६० वर्षपछि कम्युनिष्ट शासनविरूद्ध प्रदर्शन भएको छ ।
अमेरिकाको नाकैमुनि कम्युनिष्ट शासन चलाइरहेको क्युबा पछिल्लो ६ दशकदेखि शान्त थियो। अरू प्रजातान्त्रिक मुलुकहरूमा हुनेजस्ता प्रदर्शन र आन्दोलन त्यहाँ हुँदैन थिए ।
सुरूमा फिडेल क्यास्ट्रो र पछि उनका भाइ राहुल क्यास्ट्रोले कम्युनिष्ट शासन चलाएको क्युबामा स्वास्थ्य प्रणालीले निकै मजबुद् भएको मानिन्थ्यो। रेमिट्यान्स र पर्यटनबाट हुने आम्दानीले नागरिकलाई खान-लाउन पुगेकै थियो। कम्युनिष्ट शासन मन नपराउनेहरू अनेक बहानामा भागेर अमेरिकामा शरण लिन्थे।
जुलाईको दोस्रो सातादेखि भने राजधानी हवानासहित देशभरि मुख्य सहरमा क्युबालीहरू सडकमा निस्किए। कम्युनिष्ट सरकारविरोधी नारा लगाएका उनीहरूमध्ये केहीले प्रहरीमाथि ढुंगा हाने। केहीले पसलमा लुटपाट गरे। पश्चिमी सहर सान आन्तोनियो डे लस बानोसबाट सुरू भएको आन्दोलन केही दिनमै ४० सहरमा फैलियो।
कम्युनिष्ट शासन स्थापना भएको छ दशकपछि क्युबालीहरू सरकारविरूद्ध सडकमा निस्किएपछि शान्त तलाउमा ढुंगा हानेजस्तो तरंग आएको छ। संसारभरिबाट क्युबालीको आन्दोलनलाई चासोका साथ हेरिएको छ।
नेपालको संसदमा पनि यस विषयमा कुरा उठेको छ।
गत आइतबार बसेको दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले यसबारे बोलेका थिए।
‘अहिले संयुक्त राज्य अमेरिकाबाट पालित-पोषितहरूले क्युबामा त्यहाँको क्रान्तिकारी सरकारको विरोधमा प्रदर्शन गरेको समाचारहरू प्राप्त भएको छ। संयुक्त राज्य अमेरिका साम्राज्यवादले क्युबामा ६० वर्षभन्दा अगाडिदेखि नाकाबन्दी लगाएको र अहिले अघोषित साइबर युद्ध चलाएको हुनाले अहिले त्यहाँका क्रान्तिकारी नेताहरू र जनताहरू लाखौं संख्यामा सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्।’
संयुक्त राष्ट्रसंघमा २९ औं पटक पराजित भइसके पनि विश्व जनमतको अपमान गर्दै अमेरिकी साम्राज्यवादले क्युबामा लगाएको नाकाबन्दी अविलम्ब फिर्ता गर्नुपर्ने पनि सुवालले बताए।
नेपालको संसदमा सुवालले क्युबाको आन्दोलनका पछाडि अमेरिकाको हात रहेको दाबी गरेजस्तै व्याख्या क्युबाको सरकारले पनि गरेको छ।
आन्दोलनलाई दबाउन सरकारले सामाजिक सञ्जाल, इन्टरनेट र टेलिफोन बन्द गरिदिएको छ। प्रतिक्रान्तिकारीहरू जुर्मुराएको भन्दै राष्ट्रपति मिगेल डियाज क्यानेलले ‘क्रान्तिकारीहरू’ लाई सडकमा निस्कन भनेका छन्।
आन्दोलनकारीलाई परास्त गर्न सेना, प्रहरीसँगै कम्युनिष्ट पार्टीका मिलिसिया पनि लठ्ठी बोकेर सडकमा निस्किएका छन्। पार्टीको कार्यकर्ता, सरकारी कर्मचारी र विद्यार्थीलाई त्यस्ता प्रदर्शनमा अनिवार्य सहभागी हुन भनिएको छ। आन्दोलनकारी र उनीहरूबीच भएको झडपमा एक जना मारिएका छन्। सयौं मानिसहरूलाई गिरफ्तार गरिएको छ।
सडकमा निस्किएका सरकार समर्थकहरू।
अमेरिकाको योजनाअनुसार नै क्युबाली सडकमा निस्किएका हुन् कि होइनन् भन्ने कुराको टुंगो लगाउने ठोस आधार छैनन् तर पछिल्लो समय क्युबामा भएको बदलावले भने आन्दोलनमा ठूलो भूमिका खेलेको देखिन्छ।
प्रदर्शनकारीहरूमध्ये धेरै युवा छन्। यस्ता युवा जसलाई सन् १९५९ मा फिडेल क्यास्ट्रोले गरेको क्रान्तिको बारे न थाहा छ न त मतलब नै। उनीहरू अहिलेका आफ्ना आवश्यकता पूरा भएको हेर्न चाहन्छन्।
क्रान्ति पूरा भएपछि फिडेल क्यास्ट्रोले सन् २००८ सम्म शासन चलाएका थिए भने त्यसपछि उनले आफ्ना भाइ राउल क्यास्ट्रोलाई सत्ता सुम्पिएका थिए।
क्यास्ट्रोहरूप्रति धेरै क्युबालीको एक प्रकारको सम्मान देखिन्थ्यो। क्रान्तिको नेतृत्व गरेको भएकाले पनि क्युबाली समाजमा उनीहरूको ‘लिगेसी’ थियो।
राउलले सन् २०१८ मा राष्ट्रपति छोडेका थिए भने गत अप्रिलमा कम्युनिष्ट पार्टी अफ क्युबाको राजनीतिबाट पनि अलग भएका थिए।
क्यास्ट्रो शासनको अन्त्यपछि अहिले क्युबाको सत्ता मिगेल डियाज क्यानेलको हातमा छ। उनी राउल राष्ट्रपति हुँदा क्युबाका उपराष्ट्रपति थिए।
क्यानेलसँग क्यास्ट्रो दाजुभाइको जस्तो न लिगेसी छ न त ‘करिज्म्याटिक’ व्यक्तित्व नै। त्यही भएर पनि अहिले धेरै क्युबाली सडकमा निस्किएका हुन्।
आन्दोलन हुनुको अर्को कारण कोरोना र अमेरिकी प्रतिबन्धका कारण ओह्रालो लागेको अर्थतन्त्र हो।
गत वर्ष कोरोनाभाइरसको महामारीले क्युबाली अर्थतन्त्र ११ प्रतिशतले खुम्चिएको थियो।
वाल स्ट्रिट जर्नलका अनुसार अहिले क्युबालीहरूलाई बजार दैनिक उपभोग्य वस्तु किन्न र बसमा चढ्न पनि लामो लाइन लाग्नुपर्छ। खाद्यान्नको अभाव छ, दिनमा घन्टौंसम्म बत्ती जान्छ। जसले गर्दा १ करोड दश लाख क्युबालीको दैनिक जीवन सोझै प्रभावित भएको छ।
अर्थतन्त्र खस्किनुमा अमेरिकाले लगाएको प्रतिबन्ध पनि एउटा कारण हो। राष्ट्रपति बाराक ओबामा प्रशासनले क्युबा माथिको प्रतिबन्ध केही खुकुलो पारेका थिए तर उनका उत्तराधिकारी डोनाल्ड ट्रम्पले ती प्रतिबन्ध कडा पारे।
जो बाइडेनको प्रशासनले ट्रम्पको उक्त प्रतिबन्धलाई निरन्तरता दिइरहेको छ। अर्कातिर लामो समयदेखि क्युबालाई सस्तोमा तेल दिँदै आएको ल्याटिन अमेरिकी मुलुक भेनेजुयलाले पनि पछिल्लो समय त्यो सुविधा कटौती गरेको छ। क्युबाबाट डाक्टर, शिक्षक र अरू सल्लाहकार लैजाने भेनेजुयलामा निकोलस मडुरोको सरकार अहिले आफैं आर्थिक संकटमा फसेको छ।
यहीबेला कोरोनाको संक्रमण ह्वात्तै बढेको छ। सन् २०२० मा क्युबाले कोरोनालाई नियन्त्रणमा राखेको थियो। गत वर्ष कोरोना संक्रमणबाट १४६ जनाले मात्र ज्यान गुमाएका थिए। यो वर्षको अप्रिल र जुनमा संक्रमण ह्वात्तै बढेपछि अहिले मृतकको संख्या २ हजार बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
क्युबाले कोरोनाभाइरसविरूद्ध आफैंले खोप बनाएको घोषणा गरेको थियो। उसले आफूले बनाएको खोपलाई अब्दाला नाम दिएको थियो। उक्त खोपले काम गरे/नगरेकोबारे विस्तृत विवरण आएको छैन।
आन्दोलन हुनुमा अर्को कारण सामाजिक सञ्जाल हो। अरू मुलुकमा जस्तै क्युबामा पनि सामाजिक सञ्जाल लोकप्रिय छन्। सामाजिक सञ्जालले नै मानिसहरूलाई सूचनासम्मको पहुँच बढाएका छन्। सरकारले दिने सूचनाबाहेक उनीहरूले अरू समाचार पनि थाहा पाउन थाले। त्यतिमात्र होइन उनीहरूले आफ्नो आक्रोश पनि सामाजिक सञ्जालमार्फत् पोख्न थाले। त्यहीँबाट प्रदर्शन आयोजना गरे। मोबाइलबाटै आन्दोलनको लाइभ गरे।
सयौंको गिरफ्तारी र बाक्लो संख्यामा सडकमा सुरक्षाकर्मी परिचालन भएपछि क्युबालीको आन्दोलन अहिले केही मत्थर भएको छ।
६० वर्षपछि आन्दोलन गर्न सडकमा आएका क्युबालीलाई कम्युनिष्ट सरकारले शान्त पार्न सक्छ कि उनीहरू कम्युनिष्ट शासन हल्लाइदिन्छन् भन्ने हेर्न बाँकी छ।








