नवलपरासी,१९ बैशाख ।
नवलपरासी पूर्वकाे कावासोतीमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गकाे कावासोती नगरपालिका–८ कालीगण्डकी चोकमा आज बिहान रोकिराखेको ट्रकको पछाडि स्कुटर ठोकिँदा स्कुटरकाे पछाडि सवार महिलाको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार बिहान फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग प्र ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र नं २–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किँदा हुप्सेकोट गाउँपालिका–२ बस्ने निशा कुमालको मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर पछाडि सवार निशा कुमाल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि चितवन लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा स्कुटर चालक कावासोती नगरपालिका–८ बस्ने ३७ वर्षीय शंकर श्रेष्ठ घाइते भएका छन् । उनको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।