काठमाण्डौ,६ असाेज ।
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र थप शक्तिशाली हुँदै गहिरो न्यून चापीय प्रणालीको रूपमा उत्तर–पश्चिम दिशातर्फ अघि बढेको मौसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रत्यक्ष असर भारतका तटीय राज्यहरू—ओडिशा र उत्तरी आन्ध्र प्रदेशमा देखिन थालिसकेको भारतको मौसम विभागले जनाएको छ । ५० देखि ६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्नुका साथै अत्यधिक वर्षा हुन थालेपछि ती विभागले त्यहाँ सतर्क रहन भन्दै रेड अलर्ट जारी गरेको भारतीय संचारमाध्ययमले जनाएका छन् ।
न्यून चापीय क्षेत्र ठूलो विनाशकारी आँधीबेहरी र चक्रवातका रूपमा विकास भई नसकेको भए पनि तीव्र हावाहुरी र अत्यधिक भारी वर्षा गराउने शक्तिशाली न्यून चापीय क्षेत्रका रूपमा देखिएकाले नेपालमा ठूलो वर्षा गराउने प्रस्ट भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. मदन सिग्देलले बताउनुभयो । उहाँका अनुसार भोलीसम्ममा चक्रवातको रूप लिने सम्भावना छ ।
चक्रवातले दिशा बदल्ने सम्भावना पनि रहन्छ । त्यसले वर्षाको मात्रामा फरक पार्छ । तर असोज ९ देखि ११ गते धेरै ठाउँमा भीषण वर्षा हुने प्रस्ट छ । मौसम पूर्वानुमान महाशाखाले पनि बंगालको खाडीमा विकसित प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पर्ने गतिविधि बढ्न सक्ने र ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वानुमान गरेको छ ।
नेपालमा आउँदो २४ देखि ४८ घण्टाभित्र विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई धेरै ठाउँमा मध्यम र केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना छ । वर्षाका कारण पहाडी भूभागमा पहिरो जाने र साना खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
तीन दिनका लागि लामो यात्रा स्थगित गर्न सुझाव छ । साथै, बाली भित्र्याउने तयारीमा रहेका किसानहरूलाई केही दिनका लागि काम रोक्न र यात्रा गर्दा मौसमको ताजा जानकारी लिन मौसमविद्हरुको सुझाव छ ।






