बर्दिया,२८ कार्तिक ।
बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडक खण्डमा यात्रुवाहक मिनिबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार दिउँसो गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिफोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार पहिचान नखुलेका अन्दाजी ५५ देखि ६० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल गुलरिया पुर्याइएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
दुर्घटनामा बस चालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने केही सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
घाइतेमध्ये बस चालक गुलरिया नगरपालिका–८ का ४० वर्षीय हरि चौधरीको दाहिने हातमा चोट लागेको छ । उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।
त्यस्तै, मधुवन नगरपालिका–९ की २६ वर्षीया ललिता चौधरी, मधुवन नगरपालिका–५ का १८ वर्षीय सुरजबहादुर राजी र १७ वर्षीय संगम वलीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
अन्य घाइतेहरूको बर्दिया जिल्ला अस्पतालमै उपचार भइरहेको छ । सामान्य चोट लागेका केही घाइते उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






