काठमाडौँ,२७ कार्तिक ।
जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ सम्भावना बलियो बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको न्यून स्कोरको खेलमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै चितवन सात अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

चितवनको जितमा डाविड मालानले अविजित ३५ रन बनाए । उनले ३९ बलमा एक छक्का प्रहार गरे । सुरुवातमै विकेट गुमाएको चितवनका लागि मालानले संयमित ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए ।

चितवनले दोस्रो बलमै ओपनर अर्जुन साउदलाई गुमाएको थियो । ३७ रन जोड्दा पाँच विकेट गुमाएर दबाबमा परेको चितवनलाई मालान र कुशल मल्लले छैटौँ विकेटका लागि ३० रनको साझेदारी गर्दै सम्हाले । कुशलले १५, रवि बोपाराले १३ र कमिल मिसाराले १२ रन बनाए ।

जनकपुरका राहुल यादवले तीन विकेट लिए । ललित राजवंशीले दुई तथा विशाल सुशलिङले एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८८ रन बनाएको थियो । जनकपुरका कप्तान हर्मीत सिंहले सर्वाधिक २४ रन बनाए । उनले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरे । विशाल सुशलिङले १५ तथा सन्तोष कार्कीले १० रन जोडे ।

जनकपुरका अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । पाँचौँ विकेटका लागि विशाल र आदित्य महताबीच भएको १८ रनको साझेदारी नै जनकपुरको सबैभन्दा ठूलो साझेदारी बन्यो । आदित्यले चार रन मात्र बनाउन सके ।

चितवनका स्पिनर रन्जितकुमारले उत्कृष्ट बलिङ गर्दै तीन ओभरमा एक मेडनसहित दुई रन खर्चेर तीन विकेट लिए । कप्तान सिकन्दर राजाले चार ओभरमा दुई मेडन राख्दै १० रन खर्चेर दुई विकेट लिए । कमिल मिसाराले पनि दुई विकेट हात पारे । कमलसिंह ऐरी र रिजन ढकालले एक–एक विकेट लिए ।

यस जितसँगै चितवनले छ खेलबाट तीन जित र दुई हारसहित सात अङ्क जोडेको छ । टोलीको एक खेलको नतिजा भने बाँकी रहेको छ । चितवनले लिग चरणको अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

अर्कोतर्फ, सातै खेल खेलेको जनकपुर दुई जितबाट चार अङ्क मात्र जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली याक्सको पनि चार अङ्क मात्र रहेकाले अन्तिम खेल जिते पनि टोली शीर्ष चारमा पुग्न नसक्ने अवस्थामा पुगेको छ ।

चितवनको प्लेअफ यात्रा भने विराटनगर किंग्स र लुम्बिनी लायन्सबीचको शनिबारको खेल तथा कर्णालीसँगको अन्तिम खेलको नतिजामा निर्भर रहनेछ । विराटनगर पराजित भए चितवनले अन्तिम खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गर्नेछ । विराटनगर विजयी भए चितवनले कर्णालीलाई हराउनुपर्नेछ ।