काठमाडौं,२७ कार्तिक ।
काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। रोमाञ्चक प्रतिस्पर्धामा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो ।

यससँगै सुदूरपश्चिमले काठमाडौंविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

लिग चरणका सबै खेल खेलेको सुदूरपश्चिमले ७ खेलमध्ये ५ मा जित र २ मा हार बेहोर्दै १० अंक जोडेको छ । यस जितसँगै सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यता, महत्वपूर्ण खेलमा पराजित भएपछि काठमाडौं गोर्खाज भने अंकतालिकाको तेस्रो स्थानमा झरेको छ । सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शनसहित प्लेअफ यात्रा तय गर्दा काठमाडौंको शीर्ष स्थानमा रहने सम्भावनामा धक्का लागेको छ ।