काठमाडौँ,२६ कार्तिक ।
साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा छ चौका र एक छक्का प्रहार गरे । अर्धशतक बनाउन चार रनले चुकेका सर्टले सुरुवाती विकेट पतनका बीच एक छेउबाट इनिङ्स सम्हालेका थिए ।

१९ रनमै तीन विकेट गुमाएको लुम्बिनीका लागि सर्ट र निरोशन डिक्वेलाले चौथो विकेटमा ४१ रनको साझेदारी गरे । डिक्वेलाले १३ बलमा दुई चौकासहित १६ रन बनाए । त्यसपछि सर्टले दिलिप नाथसँग मिलेर टोलीलाई जिततर्फ अघि बढाए ।

दिलिपले अविजित २८ रन बनाए । २७ बल खेलेका उनले चार चौका प्रहार गरे । शमिम हुसेन पाँच रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । चार ओभरमा एक मेडन राखेका उनले १२ रन मात्र खर्चिए । पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा समेटिएको थियो । कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा चार चौका र एक छक्का प्रहार गरे । हुसेन तलतले २४, गुल्सन झाले १३ र पवन सर्राफले १२ रन जोडे ।

१५ रनमै चार विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले पाँचौँ विकेटमा ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर, त्यसपछि नियमित अन्तरमा विकेट गुमाउँदा टोली ठूलो योगफल बनाउन असफल भयो ।

लुम्बिनीका अभिषेक गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । रुबेन ट्रम्पेलमन र शेर मल्लले एक–एक विकेट हात पारे ।

जितसँगै छ खेलबाट नौ अङ्क जोडेको लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ । टोलीले चार खेलमा जित र एक खेलमा हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो । लुम्बिनीले अब लिग चरणको अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

यता,सुरुवाती दुई खेल जितेर प्रतियोगितामा राम्रो सुरुवात गरेको कर्णाली लगातार चार खेलमा पराजित भएको छ । छ खेलबाट चार अङ्कसहित सातौँ स्थानमा रहेको कर्णालीको प्लेअफ सम्भावना कठिन बनेको छ । अब उसको प्लेअफ यात्रा चितवन राइनोजविरुद्धको अन्तिम खेलको नतिजामा निर्भर हुनेछ ।