काठमाडौँ,१८ बैशाख ।
दीपेन्द्रसिंह ऐरीको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा यूएईलाई पराजित गर्दै नेपालले आइसीसी विश्वकप लिग–२ मा दोस्रो जित दर्ता गरेको छ ।

शुक्रबार भएको सिरिजको तेस्रो खेलमा नेपालले यूएईमाथि डीएलएस मेथडमा ६ रनको रोमाञ्चक जित हात पारेको हो । नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हरायो । यससँगै नेपालले जारी सिरिजमा ४ अंक जोडेको छ ।

यसअघि बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएल मेथडमा १०२ रनले पराजित भएको थियो ।

शुक्रबार नेपालले यूएईसामु जितका लागि २९० रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले खेल प्रभावित भएपछि यूएईले ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य पाएको थियो । यूएईले निर्धारित ३८ ओभरमा ८ विकेटको क्षतिमा २४८ रन मात्र बनायो ।

यूएईका लागि मुहम्मद सद्दाकले सर्वाधिक ६५ रन बनाए। ७२ बलमा ४ चौका र २ छक्का सहयोगमा ६५ रन बनाएका मुहम्मद सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे ।

हरप्रित सिंहले ४१ र आर्याशं शर्माले ३३ रन थपे। अदीप उस्मानी १४ रनमा आउट भए ।

यूएईलाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले तीन विकेट लिए । सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट आफ्नो नाममा गरे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक पूरा गरे। उनले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक पूरा गरेका थिए ।

ओडीआईमा दीपेन्द्रको यो दोस्रो शतक हो । यसअघि उनले सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमै शतक हानेका थिए। शतक पूरा गरेसँगै दीपेन्द्र रन आउट भए ।

ओपनर विनोद भण्डारीले ५६ रन बनाए । उनले ७९ बलमा ७ चौका प्रहार गर्दै ओडीआईमा सम्झनलायक कमब्याक गरेका छन् । विनोदले चार वर्षपछि ओडीआई क्रिकेट खेलका हुन् । उनले पछिल्लो पटक सन् २०२२ मा स्कटल्यान्डविरुद्ध लिग–२ खेलेका थिए ।

योसँगै विनोदले नेपालका लागि ओडीआई खेल्ने अनुभवी खेलाडी बन्दै शक्ति गौचनको कीर्तिमान आफ्नो नाममा गरेका छन् । यसअघि सन् २०१८ मा शक्तिले ३४ वर्षको उमेरमा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए। विनोद अहिले ३६ वर्षका भए ।

त्यस्तै, गुल्सन झा ४४ रन बनाउँदा क्याच आउट भए । छैटौँ विकेटका लागि दीपेन्द्र र गुल्सनले १०२ रनको साझेदारी गरे ।

कप्तान रोहित पौडेल ४८ बलमा ३ चौका सहयोगमा ३९ रन बनाउँदा क्याच आउट हुन पुगे । ओडीआईमा डेब्यु गरेका ओपनर अर्जुन कुमाल ११ रन बनाउँदै पेभेलियन फर्के। आरिफ शेखले ११ रन नै बनाए। भीम सार्की भने शून्य रनमा नै आउट भए ।

यूएईका लागि अजय कुमार र जुनैद सिद्दिकीले समान दुई विकेट लिए । हैदर अली र खुजैमा तनविरले समान एक विकेट आफ्नो नाममा गरे ।

सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार ओमानविरुद्ध फेरि खेल्नेछ ।