कपिलवस्तु,१९ वैशाख ।
२५७० औं बुद्ध जयन्तीको अवसर पारेर कपिलवस्तु स्थित बालगृहमा आश्रित बालबालिकालाई सहयोग सामग्री वितरण तथा भोजन दान कार्यक्रम सम्पन्न भएको छ ।

प्राचीन कपिलवस्तु बचत समूह, सिद्धार्थटोल तौलिहवाको आयोजनामा सम्पन्न कार्यक्रममा बालगृहमा रहेका ३२ जना असहाय बालबालिकालाई ब्याग,खेलकुद तथा स्टेशनरी सामग्री,झुल लगायतका सामग्री वितरण गर्नुका साथै भोजन दान गराइएको हो ।

कार्यक्रममा नगर प्रमुख सुदीप पौडेलले बुद्धका उपदेशलाई व्यवहारमा उतार्दै मानवसेवामा अग्रसर हुनु आजको आवश्यकता भएको बताए । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र सहकार्यलाई बलियो बनाउने उनलेे उल्लेख गरे ।

लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य राजेश ज्ञवालीले असहाय तथा विपन्न बालबालिकाको संरक्षणमा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उनले शिक्षा र अवसरको पहुँच विस्तारमा यस्ता पहल निरन्तर हुनुपर्नेमा जोड दिए ।

मानव अधिकारकर्मी रविन्द्रनाथ ठाकुरले प्रत्येक बालबालिकाको अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताए । उनले असहाय बालबालिकालाई संरक्षण र अवसर प्रदान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेपाल–भारत मैत्री संघ, रोयल थाई मोनास्ट्री लुम्बिनी, लुम्बिनी स्वर्णभूमि फाउन्डेसन नेपाल, वाट थाई कपिलवस्तु निग्रोधाराम नेपाल, सारिपुत्र फाउन्डेसन तथा नेपाल अर्बुद रोग निवारण संस्थाको सहयोगमा कार्यक्रम भएको हो ।

समूहकी अध्यक्ष अञ्जना खत्री ज्ञवालीको अध्यक्षता तथा टिका भट्टराई जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम नम्रता ठाकुर अधिकारीकाे सहजिकरणमा सम्पन्न भएको थियो ।