काठमाण्डौ,५ असोज ।
आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेश तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
उत्तर अण्डमान सागर र आसपास बनेको न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भागमा पुगेको छ । यो थप शक्तिशाली हुँदै गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम–उत्तरपश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ ।
सम्भावित वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
नदी, नाला र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।
साथै हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






