५० हजार डोज खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग
पाल्पा,९ जेठ ।
पाल्पाको रामपुर नगरपालिकाले कोरोना भाइरस विरुद्धकाे खोप खरिद गर्ने तयारी गरेको छ ।
नगरपालिकाका प्रमुख रमण बहादुर थापाले खाेप खरिदका लागि अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार निवेदन दिएका हुन् ।
सरकारले खोप उपलब्ध गराउन समय लगाएपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग भेटेर अनुमति मागेको नगर प्रमुख थापाले जानकारी दिए ।
नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन चाहेका भन्दै उनलेे त्यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका थापाले बताए ।
खाेप खरिद अनुमतिका लागि स्वास्थ्यमन्त्रीलाई भेटेर निवेदन दिएकाे र त्यसमा स्वास्थ्य मन्त्री सकारात्मक रहेको उनको भनाइ छ ।
भारतीय गृहमन्त्री अमित शाहको सचिवालयमा कार्यरत रामपुर वडा नम्बर ७ निवासी सन्दीप रानासँगकाे समन्वयमा खोप खरिद गर्न अनुमति मागिएको थापाले बताए ।
बिपी चिन्तन प्रतिष्ठानका अन्तर्राष्ट्रिय अध्यक्षसमेत रहेका सन्दीपसँगको समन्वयमै खोप खरिदको प्रक्रिया अगाडि बढाइएको र खर्चको प्रवन्ध पनि नपालिकाले नै गर्ने नगर प्रमुख थापाले जानकारी दिए ।
उनलेे भने-‘कि संघीय सरकारले समयमै उपलब्ध गराइदिनुपर्यो, होइन भने हामी नै खरिद गर्छौं अनुमति दिनुपर्यो ।’
रानाको समन्वयमा भारतका ३ वटा कम्पनीबाट खोप खरिद गर्न सकिने नगर प्रमुख थापाको भनाइ छ । विकास बजेट कटाएर भए पनि खोप खरिद गर्ने उनलेे बताए ।
नगरपालिकाकाे विपद व्यवस्थापन कोषमा १ करोड रुपैयाँ रहेको र यो वर्ष सबै विकास बजेट पनि खर्च हुन नसकेकोले पालिकाहरुले नै खोप खरिद गर्न सक्ने उनको दाबी छ ।
विकास भन्दा नागरिकको जीवन रक्षा महत्त्वपूर्ण रहेकोले नगरपालिकाले आफै खाेप खरिद गर्ने तयारी गरेको थापाले बताए ।
रामपुर नगरपालिकामा अहिले ४२ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५ जना गम्भीर बिरामीको प्रादेशिकस्तरको रामपुर अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा रामपुरमा २० बेड, वडा नम्बर १, ९ र १० मा ५/५ बेडको आइसोलेसन तयार पारेको छ । स्थानीय तहले सक्ने जति पहल गर्न दिने र त्यसमा संघीय सरकारले वातावरण मिलाइदिने हो भने पनि धेरै छिटो खोप आउने उनको भनाइ थियो ।
फ्रन्ट लाइनमा खटिएकाहरु र लक्षित वर्गकाले पहिलो र दोस्रो चरणमा खोप लगाइसकेको र ५० हजार डोज खोप ल्याउँदा सबैलाई पुग्ने नगर प्रमुख थापाले बताए । खोप खरिद गर्न देशविदेशबाट रामपुरवासीले पनि सहयोग गर्न चासो देखाएकाले आर्थिक समस्या नहुने उनलेे बताए ।
अहिलेसम्म पाल्पामा कोरोनाले उग्र रुप नलिए पनि बेलैमा खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउने हो भने धेरै नियन्त्रण गर्न सकिने आवाज नागरिकस्तरबाट पनि उठेकोले पनि खाेप खरिद गर्न नगरपालिकालाई दबाव महसुस भएको थापाको भनाइ छ ।