काठमाण्डौ,७ असोज ।
बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यून चापीय प्रणाली भारतका उडिसा, पश्चिम बङ्गाल र बिहारलगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ ।

यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा शुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, बङ्गालको खाडीबाट शुरू भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ । यसको असरले असोज ८ गतेदेखि १२ गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा लगातार झरी र आरिघोप्टे वर्षा हुने पूर्वानुमान छ ।

त्यस्तै, मधेश र कर्णाली प्रदेशमा पनि आगामी दुई/तीन दिनसम्म मुसलधारे वर्षाको सम्भावना रहेको छ । लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासि बढ्ने, पहाडी भूभागमा पहिरो जाने र तराईका होचा स्थानमा डुबान हुनसक्ने उच्च जोखिम रहेको छ । साथै, उच्च हिमाली भेगमा अत्यधिक हिमपात हुने भएकाले यो समयमा पदयात्रा र पर्वतारोहणमा नजान विभागले कडा चेतावनी दिएको छ ।

सम्भावित विपद्लाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक लामो दुरीको रात्रि यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । देशैभरका सुरक्षा निकाय र उद्धार टोलीहरूलाई ’हाई अलर्ट’मा राखिएको छ ।

यता, कृषि मन्त्रालयले किसानहरूलाई पाक्न लागेको धान बाली जोगाउन आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ ।