बुटवल,२७ वैशाख । नेपाली कांग्रेस रूपन्देहीले काेराेना भाइरस संक्रमणबाट नागरिकको जिवन रक्षा गर्न आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गरेको छ ।
कोभिड–१९ को महामारीले रुपन्देही जिल्लामा दैनिक सयौंको संख्यामा संक्रमित थप हुदै गएको र जिल्ला कोरोनाको हटस्पट बनेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले नागरिकको जिवन रक्षा गर्न आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गरेको हो ।
नेपाली कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरि जिल्लामा रहेका ५ वटा कोरोनाको उपचार हुने अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन, भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भएको जनाउँदै अहिले जिल्लामा अक्सीजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको दयनीय घटना हामीले देख्नु परिरहेको जनाएका हुन ।
काेभिड_१९ महामारीबाट सरकार नागरिकको जिवन रक्षा गर्ने भन्दा पनि सत्ता र कुर्चिकाे खेलमा लिप्त बनेको भन्दै विज्ञप्तिमा महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मि डाक्टर, नर्स, स्वास्थ्य स्वयंसेवक, सुरक्षाकर्मि, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्व योगदान गरेकोमा हार्दिक सम्मान प्रकट गरिएकाे छ । उहाँहरु सबैको सुरक्षाको लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बनोस् भन्ने कांग्रेसको माग छ ।
३ महिनामा सबै नेपालीलाई खोप लगाउँछु भनेर स्वयम् प्रधानमन्त्रीको बोली झुट सावित भएको भन्दै कांग्रेसले तीनै तहका सरकारहरुबाट जनताले विश्वास गुमाइसकेको जनाएको छ छ । कमिशनको कारण खोप आउन नसकेको कुरा सरकारकै मन्त्रीबाट सार्वजनिक भएको जनाउँदै कांग्रेसले रुपन्देहीमा रहेका पार्टीका सदस्य, शुभेच्छुक साथीहरु र विभिन्न सामाजिक संघसंस्थाहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संकटमा र विपतमा परेकाहरुलाई सक्दो सहयोग गर्न अपील समेत गरेकाे छ ।