प्रम ओली पुनः संसद् भङ्ग गरेर देशलाई मध्यावधिमा धकेल्न उद्यत रहेको जनमोर्चाको ठहर
बुटवल,७ वैशाख ।
राष्ट्रिय जनमोर्चाले अचानक प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई अधिनायकवादी तथा निरंकुश कदमको संज्ञा दिएको छ ।
अचानक प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको बिरोध जनाउदै सरकारको उक्त निर्णयको जनमोर्चाले भ्रत्सर्ना गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओली ओली पुनःस्थापित संसद्को समेत विरुद्ध रहँदै आएको भन्दै पुनःस्थापित संसद् विरुद्धको मानसिकताका कारण नै सरकारले संसद् अधिवेशन सुरु भएदेखि नै संसद्लाई कुनै बिजनेस (काम) नै नदिई पङ्गु बनाउने र संसद्ले उठाएका विषयमा कुनै सुनुवाइ नै नगरी त्यसप्रति घोर उपेक्षाको नीति अपनाउँदै आएको आरोप समेत लगाएका छन् ।
प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गरी पुनः संसद् भङ्ग गरेर प्रधानमन्त्री केपी शर्मा ओली देशलाई मध्यावधिमा धकेल्न उद्यत रहेको जनमोर्चाको विश्लेषण छ ।
सरकारका विषयमा संसदमा उठेका सवालहरूको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व भए पनि प्रधानमन्त्री ओलीले त्यसको जवाफ नदिई संसद्को नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त्य गरेको अध्यक्ष केसीको आरोप छ ।
प्रधानमन्त्री ओली यो संसद्लाई भङ्ग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि जुनसुकै हतकण्डा अपनाउन तयार भएको ठहर गर्दै जनमोर्चाले सरकारको त्यस्तो क्रियाकलापले देशको गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको जनाएको छ ।