Share this News on Social Networking Pages


आज विपक्षी दलहरुको संयुक्त बैठक बस्दै

बुटवल, ५ वैशाख ।
नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने वा नढल्ने बारे सम्भवत आज छिनोफाने हुने भएको छ ।
मुख्यमन्त्री पोखरेल बिरुद्धको अविश्वास प्रस्ताव दर्ता गर्ने बिषयमा आज बिपक्षी दलहरुको बैठक बस्दै छ ।

यस अघि सरकार ढल्ने या नढल्ने भन्नेमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आइतबार दिउँसो बस्ने भएको छ ।
सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त बैठक बस्नुअघि जसपाको बैठक तय भएको हो ।

६ जना सांसद रहेको जसपा संसदीय दल एक ढिक्का नहुँदा सरकारविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्ताव टरेको थियो । लामो समय अनिर्णयको बन्दी बनेको जसपा संसदीय दलको बैठकले गर्ने निर्णयले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार जोगिने वा ढल्ने छिनोफानो हुनेछ ।

जसपाका ६ जना सांसदमध्ये पूर्वराजपाकी सांसद कल्पना पाण्डे लम्साल अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने÷नगर्ने बिषयमा पार्टी केन्द्रको लिखित निर्देशन आउनुपर्ने भन्दै अविश्वासको प्रस्तावको पक्षमा उभिन आलटाल गर्दै आएकी छन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा निर्णय गर्नुपर्ने भएकाले संसदीय दलको वैठक बस्न लागेका जसपा संसदीय दलका नेता सहषराम यादवले जानकारी दिए ।

केन्द्रको राजनीतिको असरका कारण पार्टीमा मतभेद हुनु स्वभाविक भए पनि प्रदेशको हकमा जे हुन्छ दलको बैठक बसेर एउटा निर्णय गर्ने उनले बताए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली समूह संसद विघटन गरेर प्रतिगमन र निरंकुश बाटोमा हिँड्नुका साथै विगतमा मधेश, आदिवासी जनजाति, समावेशिता, संघीयताका विषयमा अनुदार रहेकाले उनीहरुलाई समर्थन गर्न नसकिने नेता यादवको भनाइ छ ।

जसपाका एक प्रदेश सभा सदस्यले हस्ताक्षर गर्न नमान्दा दुई हप्ताअघि दर्ता गर्ने तयारी गरिएको सरकारविरुद्धको अविश्वास प्रस्ताव तुहिएको थियो । सरकार बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सुइको पाएपछि प्रदेश सरकारले सुरु भएको एक हप्तामै प्रदेश सभाको अधिवेशन अन्त्य गरेको थियो ।

जसपाको बैठकपछि तीन दलको बैठक बस्ने तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले जानकारी दिए । ‘जसपा एकढिक्का भएर अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय भए १५ दिनमा लुम्बिनी प्रदेश सरकार ढल्ने उनले बताए ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले शंकर पोखरेल नेतृत्वको सरकारको विकल्पमा बाँकी चार दल एक ठाउँमा उभिन तयार भएको बताए । जसपा एकढिक्का नभए पनि बहुमत पु¥याउने गरी आफूहरु अघि बढेको घर्तीको दाबी छ ।

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका दुईजना सांसद पार्टीको कारबाहीपछि पदमुक्त भएकाले ८५ सदस्यीय भएको छ ।

जसमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १७ जना, जसपाका ६ जना र राष्ट्रिय जनमोर्चाका एकजना सांसद छन् ।
गण्डकी प्रदेशमा जस्तै राष्ट्रिय जनमोर्चाले यहां पनि अविश्वास प्रस्तावको पक्षमा सहयोग गर्ने विपक्षी गठबन्धनको दाबी छ । जसपा एकढिक्का हुँदा सरकारको विपक्षमा ४४ मत हुन्छ । जुन बहुमत हो ।

पूर्वराजपाकी एकजनाले समर्थन नगरे पनि कर्णालीमा जस्तै एमाले सांसदले नै फ्लोर क्रस गरेको खण्डमा पनि सरकार ढल्ने निश्चित हुन्छ ।

प्रदेश सभामा एमालेका ४१ जना सांसदमध्ये २ जना माधव नेपाल समूहमा खुलेका छन् भने अझै तीन चारजना नेपाल पक्षमै रहेको सो समूहको दाबी छ ।