Share this News on Social Networking Pages

काठमाण्डौ,३१ चैत ।
सेनाको गोली लागेर म्यान्मारमा नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतम रहेका छन् ।

मंगलबार गौतम दम्पती नजिकैको गोठबाट घर फर्किंदै गर्दा सेनाको गोली लागेको हो । म्यान्मारको जगाईं प्रान्तमा पर्ने सानो सहरको नाम हो टमु । यो सानो सहरमा करिब ४ हजार नेपालीको बसोबास छ ।

गौतम दम्पती तीन पुस्तादेखि त्यहाँका बासिन्दा थिए । उनीहरुले गाईपालन गरेर जीविका चलाउँथे । टमुका बासिन्दा तथा नेपाली साहित्यकार अमित घिमिरेका अनुसार सेनाले चलाएको गोलीबाट गौतम दम्पतीसहित ३ जनाको ज्यान मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् भने १६ जनालाई सेनाले पक्राउ गरेको छ ।

सेनाले सत्ता कब्जा गरेपछि म्यान्मारमा आन्दोलन जारी छ । सैनिकले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा अहिलेसम्म ७ सयभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकाको संख्यासमेत उल्लेख्य छ । आन्दोलनमा नेपालीभाषीको समेत उल्लेख्य सहभागि भएको जनाइएको छ । आन्दोलनममा संलग्न केही नेपालीभाषी अहिले पनि सैनिक हिरासतमा छन् ।