बुटवल,१० मंसिर ।
मनोक्रान्ति अभियानका प्रणेता, दार्शनिक तथा आध्यात्मिक गुरु डा योगी विकासानन्दले मन बिचारदेखी खाली हुँदा जुन आनन्द आउछ त्यो आनन्द मानिसलाई कहिले पनि नआउने बताएका छन् । उदाहरणको रुपमा फिलिम हेर्दाको आनन्दलाई लिन सकिने उनले बताए ।

मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्राका क्रममा बिहीबार बुटवलको कालिका मानवज्ञान माविमा आयोजित निशुल्क योग ध्यान तथा ज्ञान प्रवचन कार्यक्रममा डा योगी विकासानन्दले विश्व शान्तिका लागि योग ध्यान जरुरी रहेको उल्लेख गरे ।
ध्यानको अर्थ बिचारको चन्चलतालाई रोक्ने भन्ने हो वा बिचारको चन्चलता कम हुदै जाने उनको भनाई छ । उनले ध्यानको गहिराईमा जादा मन बिचारातित हुने र बिचारबाट खालि हुने बताए । हिड्डाहिडदै हरेक पाईलालाई ध्यान बनाउन सिकाउने र यसबाट मनलाई शान्त,आनन्दीत बनाउछ भने फिजिकल रुपमा रोगहरुलाई समेत निवारण गर्ने उनले दाबी गरे ।
कार्यक्रममा उनले हिडाईबाट शारीरिक रोगलाई जोगाउने तथा मानसिक रोग,दुख र पिडालाई ध्यानले मेटाउने तर्क दिए । विकासानन्द फाउण्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा मंसिर ३ गते इको स्पिरिचुअल योग आश्रम पोखरा–२३,बाराङबाट हिडेको पदयात्राको टोली बिहीबार बुटवल आइपुगेको हो ।
गुरु डा योगी विकासानन्द, गुरुआमा कमलेश्वर आनन्दसहित पदयात्रा टोलीलाई बुधबार बुटवलमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा जनप्रतिनिधि नरिश्वर शर्मा पौडेल,अभियन्ता नारायण प्रसाद घिमिरेसहितको टिमले स्वागत गरेको थियो । सो पदयात्रा टोली लुम्बिनी पुगेर कार्यक्रमको समापन गरिने आयोजकले जनाएका छन् ।






