२२० किलोमिटर दुरीको यात्रामा ३६ जना सहभागी
बुटवल,९ मंसिर ।
मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रामा सहभागीहरु बुधबार बेलुका बुटवलमा स्वागत गरिएको छ । विकासानन्द फाउण्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा मंसिर ३ गते इको स्पिरिचुअल योग आश्रम पोखरा–२३,बाराङबाट हिडेको पदयात्राको टोलीलाई बुटवलमा स्वागत गरिएको हो ।

मनोक्रान्ति अभियानका नेता, दार्शनिक तथा आध्यात्मिक गुरु डा योगी विकासानन्दले पदयात्राबारे जानकारी दिदै चक्रमन ध्यान एउटा विधि भएको बताए । हिड्डाहिडदै हरेक पाईलालाई ध्यान बनाउन सिकाउने र यसबाट मनलाई शान्त, आनन्दीत बनाउछन भने फिजिकल रुपमा रोगहरुलाई समेत निवारण गर्ने उनले दाबी गरे । नेपालमा नै सबैभन्दा लामो शिविर साधनाका रुपमा रहेको ९ महिना ध्यान बसेका साधकसाधिकाहरु यो यात्रामा रहेको उनले बताए । ध्यान शिविरमा बसेका साधकसाधनाको शक्ति मापन गर्ने रुपमा समेत यो रहेको उनले बताए । यो दोस्रो कार्यक्रम भएको उनले बताए । पहिलो संस्करणमा पोखराको आश्रमदेखि गोरखनाथ मन्दिरसम्मको १२० किलोमिटर पदयात्रा राखिएको उनले बताए । अहिले करीब २२० किलोमिटर दुरीको यात्रामा ९ महिना शिविरमा बसेका २५ जनासहित कुल ३६ जना सहभागी छन ।
कार्यक्रममा उनले हिडाईबाट शारीरिक रोगलाई जोगाउने तथा मानसिक रोग, दुख र पिडालाई ध्यानले मेटाउने तर्क दिए । ध्यानको अर्थ बिचारको चन्चलतालाई रोक्ने भन्ने हो वा बिचारको चन्चलता कम हुदै जान भएको उनको भनाई छ । ध्यानको गहिराईमा जादा मन बिचारातित हुने र बिचारबाट खालि हुन्छ । मन बिचारदेखी खाली हुदा जुन आनन्द आउछ त्यो आनन्द मानिसलाई कहिले पनि नआउने समेत बताए । उदाहरणको रुपमा फिलिम हेर्दाको आनन्दलाई लिन सकिने उनले बताए । ‘आनन्द भनेको वर्तमानमा टिक्नु हो । अर्थात मनलाई वर्तमानमा टिकाउनु नै आनन्दको द्धार खोल्नु हो ।’–उनले भने ।
कार्यक्रममा मनोक्रान्ति अभियानका नेता,दार्शनिक तथा आध्यात्मिक गुरु डा योगी विकासानन्दलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कर्णेल उजिरसिहको तस्वीरसहित सम्मान तथा स्वागत गरेका थिए । गुरु डा योगी विकासानन्द, गुरुआमा कमलेश्वर आनन्दलाई बुटवलमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा जनप्रतिनिधि नरिश्वर शर्मा पौडेल,अभियन्ता नारायण प्रसाद घिमिरेसहितको टिमबाट विशेष स्वागत गरिएको थियो । सो पदयात्रा टोली लुम्बिनी पुगेर कार्यक्रमको समापन गरिने आयोजकले जनाएका छन् ।






