काठमाडौँ,९ मंसिर ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

आनीको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले रिट दायर गरेका हुन् ।

रिट निवेदनमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङ डोल्माको योग्यता नपुगेको दाबी गरिएको छ ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ (१) (ख) बमोजिम डोल्मालाई कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो ।