बुटवल,१० मंसिर ।
सहरी फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेका बेला बुटवलमा शौचालयबाट निस्कने फोहोर र गाईवस्तुको गोबर प्रशोधन गरेर जैविक मल उत्पादन गर्न थालिएको छ । फोहोरलाई समस्याका रूपमा मात्र नभई उपयोगी स्रोतका रूपमा प्रयोग गर्ने उद्देश्यसहित बुटवल सेनिटरी प्रा.लि अन्तर्गत नेपाल बायो कम्पोष्टले यस्तो अभ्यास सुरु गरेको हो ।

कम्पनीले शौचालयबाट संकलन हुने फोहोरलाई गाईवस्तुको गोबरसँग मिसाएर प्रशोधन गरी कृषि प्रयोजनमा उपयोग गर्न सकिने जैविक मल उत्पादन गर्दै आएको छ । यसले एकातिर शौचालयजन्य फोहोरको उचित व्यवस्थापनमा सहयोग पु¥याएको छ भने अर्कोतिर रासायनिक मलको विकल्पका रूपमा जैविक मल उत्पादनको सम्भावनासमेत देखाएको छ ।

नेपाल बायो कम्पोष्टले घरघरका शौचालयबाट संकलन गरिएको फोहोरलाई विभिन्न जैविक पदार्थसँग मिसाएर मल बनाउने गरेको छ । प्रशोधनका क्रममा मेसिनको सहायताले फोहोरबाट धुलो निकालिन्छ । त्यसमा वनमारा,धुलो, पिना, हड्डीको धुलो, निमको मिश्रणलाई करिब ४५ दिनसम्म कुहाउने प्रक्रियाबाट मल तयार गरिन्छ । यसरी उत्पादन गरिएको मललाई सुनवलस्थित प्रयोगशालामा परीक्षण गरेपछि प्याकेजिङ गरी बजारमा पठाउने गरिएको छ ।

नेपाल बायो कम्पोष्टका अध्यक्ष यामबहादुर थापाका अनुसार कम्पनीले पछिल्लो एक वर्षदेखि मासिक करिब १० टन जैविक मल उत्पादन गर्दै आएको छ । उत्पादित मल एक, पाँच र २५ किलोका प्याकेटमा बजारमा बिक्री वितरण भइरहेको छ । दैनिक करिब ३२ हजार लिटर शौचालयजन्य फोहोर संकलन तथा व्यवस्थापन गर्दै आएको कम्पनीले जनाएको छ । यसका लागि रामनगर सामुदायिक वनसँग सम्झौता गरी २०७८ सालदेखि परियोजना सञ्चालन गरिएको हो । तीन वर्षका लागि गरिएको सम्झौताअनुसार कम्पनीले सामुदायिक वनलाई मासिक ३५ हजार रुपैयाँ भाडा र मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत उपलब्ध गराउने सहमति गरेको थियो ।

पाँच कठ्ठा क्षेत्रफलमा सञ्चालन भइरहेको परियोजनामा एक लाख लिटर क्षमताको ट्रिटमेन्ट प्लान्टसमेत निर्माण गरिएको छ ।

राष्ट्रिय वन अनुसन्धानअन्तर्गतको क्षेत्रमा सञ्चालन भइरहेको परियोजनामा भोगाधिकार तथा जग्गा व्यवस्थापनसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नहुँदा दीर्घकालीन सञ्चालनमा समस्या देखिएको अध्यक्ष थापाको भनाई छ । तीन बर्षमा सम्झौता नविकरण गर्नुपर्नेमा सामुदायिक बनले नविकरण नगरिदिदा समस्या उत्पन्न भएको थापाको गुनासो छ । सरकारले गर्नुपर्ने शौचालयजन्य फोहोर व्यवस्थापनको काम निजी क्षेत्रले लगानी र प्रयासमार्फत गरिरहेको अवस्थामा यस्ता परियोजनालाई राज्यका तर्फबाट नीतिगत सहजीकरण र प्रोत्साहन आवश्यक देखिएको छ ।