नवलपरासी,१० मंसिर ।
पूर्वी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप जिप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
गएराति लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति १०:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १३ जनामध्ये ८ जनालाई थप उपचारका लागि राति ११:५५ बजे चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । रिफर गरिएकामध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरी (मुख र छातीमा चोट) र २० वर्षीय निर्मल चौधरी (टाउकोमा चोट) को अवस्था गम्भीर रहेको छ ।
यसैगरी, भरतपुर रिफर गरिएका अन्य घाइतेमा विनयी त्रिवेणी–४ सर्दीका १६ वर्षीय रविन चौधरी र २० वर्षीय रिजन चौधरी (अवस्था मध्यम) तथा सोही ठाउँका २३ वर्षीय विशाल राना, १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा र १९ वर्षीय युवराज चौधरी (अवस्था सामान्य) रहेका छन् ।
घाइतेमध्ये ५ जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरूमा सर्दीका २६ वर्षीय सुमेन्द्र चौधरी (अवस्था मध्यम) र अरुणखोलाका २१ वर्षीय आदिश आले (अवस्था सामान्य) रहेका छन् । त्यस्तै, मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचारपछि अरुणखोलाका १५ वर्षीय प्रिन्स विक तथा सेवा मेडिकल अरुणखोलामा उपचारपछि सोही स्थानका ४० वर्षीय खेमनारायण चौधरी र २६ वर्षीय घनश्याम चौधरी राति ११:५५ बजे डिस्चार्ज भएका हुन् ।






