बुटवल,१० असोज ।
बुटवलमा विपद् जोखिमका बीच पश्चिम नेपाल यातायात सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १२० पिन्ट रगत संकलन भएको छ ।

विपद्का बेला हुन सक्ने सम्भावित दुर्घटना तथा रगतको अभावलाई ध्यानमा राख्दै बस व्यवसायी, चालक, मजदुर तथा कर्मचारीहरूको सहभागितामा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष दधिरिराम खरेलले जानकारी दिए ।

गत महिना भोटेकोशी र रसुवा क्षेत्रमा गएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र यस महिनामा पनि बाढीपहिरोको जोखिम कायमै रहेकाले सम्भावित रगत अभाव पूर्ति गर्न आकस्मिक रक्तदान आयोजना गरिएको उनले बताए ।

प्रतिकूल मौसम तथा सम्भावित विपद्का बीच सर्वसाधारण यात्रुसहित यातायात व्यवसायी, चालक, मजदुर र कर्मचारीसमेत जोखिममा रहने भएकाले रक्तदान आवश्यक रहेको संस्थाका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बताए ।

कार्यक्रममा संस्थाका सञ्चालक तथा दुर्घटना न्यूनीकरण अभियानका संयोजक नारायण घिमिरे, सञ्चालक तथा प्रा.लि.का लेखा संयोजक मोहन पि.एस.,संस्थाका सञ्चालक तथा सहकारीका उपाध्यक्ष जीवन बञ्जाडे, सञ्चालकहरू चेतनारायण बेल्वासे, जितेन्द्र खत्री, नारायण भण्डारी, रामचन्द्र खड्का, रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिक र सञ्चारकर्मी हरीश ढकाललगायतले रक्तदानको महत्व र आवश्यकताबारे चर्चा गरेका थिए ।