बुटवल,१० असोज ।
निरन्तरको वर्षापछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्र डुवानमा परेको छ । वर्षापछि नारायणी नदीको जलसतह बढ्दा सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित थारू टोलबाट पसेको बाढीले थारू टोलसँगै सैनिक टोल, बड्की टोल, क्याम्प टोल लगायतका सुस्ताका अधिकांश बस्ती डुबानमा गरेको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा परेका परिवारलाई सुरक्षाकर्मी उद्धार गरिएको जानकारी दिए । बाढीका कारण सुस्ताका २५० घर डुबानमा परेपछि त्यहाँका अग्लो स्थानमा बनेका छिमेकीहरूका घर र सामुदायिक विपद् व्यवस्थापन समितिले निर्माण गरेको सामुदायिक भवनमा आश्रय दिइएको छ ।

स्थानीय मुन्सीकुमार हरिजनले सुस्ता गाउँपालिका–५ को थारु टोलबाट शुक्रबारदेखि पस्न सुरु भएको नारायणी नदीको बाढी त्यहाँका कयौं करमा पसेको सुनाए । थारु टोलका ७८ घर परिवारलाई सुस्तामै बनाइएको होल्डिङ सेन्टरमा शुक्रबार दिउँसो नै सारिएको र गए राति सैनिक टोल, बड्का टोलमा पनि बाढी पसेपछि थप घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए ।

नारायणी नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा छ । नारायणी नदीले आफ्नो धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि एक लाख क्युसेक पानीको बहाव पुग्ने बित्तिकै सुस्तामा बाढी पस्ने वडा सदस्य आदम खानले बताए ।

नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले सुस्ताको सबै बस्ती जोखिममा रहेको खानले बताए । सुस्तामा निर्माणाधीन तटबन्ध भारतीय पक्षले रोकेपछि निर्माण हुन बाँकी रहेको १३२ मिटर क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीय बताउँछन् । सुस्तामा बस्तीसँगै उखु खेतीमा पनि बाढीले क्षति पुर्याएको छ ।

सुस्ता हरेक वर्ष डुवानमा पर्ने गर्छ । यहाँका स्थानीयले तटबन्ध गर्न सरकारसँग पटक–पटक माग गर्दै आएका छन् । तर, भरपर्दो तटबन्ध अझै हुन सकेको छैन । बोरामा माटो र बालुवा भरेर गरिएको तटबन्ध टिकाउ छैन । केही भागमा यही कच्ची तटबन्ध पनि गर्नै बाँकी छ । जसले गर्दा नदी कटान पनि बढीरहेको छ । यसले गर्दा स्थानीयका घर जोखिममा परेका छन् ।