बुटवल,९ असोज ।
बुटवल हस्पिटल प्रा.लि.ले सम्भावित विपद्का समयमा प्रभावकारी स्वास्थ्य सेवा तथा आकस्मिक व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले डिजास्टर म्यानेजमेन्ट कमिटी गठन गरेको छ ।
बुटवल हस्पिटल प्रा लि का मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालको नेतृत्वमा गठन गरिएको समितिमा अस्पतालका विभिन्न विभागका प्रमुख तथा सम्बन्धित शाखाका जिम्मेवार पदाधिकारीहरूलाई समेटिएको छ ।
अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विपद्को समयमा अस्पतालको सेवा निरन्तरता, आकस्मिक बिरामी व्यवस्थापन, जनशक्ति परिचालन, बेड तथा भौतिक स्रोतको व्यवस्थापन, आपत्कालीन सञ्चार प्रणाली तथा विभागहरूबीचको समन्वयलगायतका विषयमा छलफल गरिएको थियो।कार्यक्रममा हाल देखिन सक्ने विभिन्न प्रकारका विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै अस्पताललाई थप तयारी अवस्थामा राख्ने, आवश्यक जनशक्ति तथा स्रोत–साधनको पहिचान गर्ने र विपद्का समयमा छिटो तथा प्रभावकारी रूपमा सेवा प्रदान गर्ने विषयमा विशेष जोड दिइएको थियो ।
मेडिकल सुपरिटेन्डेन्ट डा. खनालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी नै महत्वपूर्ण हुने बताउँदै अस्पतालका सबै विभाग तथा कर्मचारीहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । अध्यक्ष पौडेलले विपद्को समयमा अस्पतालको भूमिका अझ महत्वपूर्ण हुने भएकाले अस्पताललाई जुनसुकै आपत्कालीन परिस्थितिको सामना गर्न सक्षम बनाउने गरी आवश्यक तयारी अघि बढाउन निर्देशन दिए । सो अवसरमा अस्पतालका जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, सचालक चन्द्रकान्त शर्मा लगायतले धारणा राखेका थिए ।
बुटवल हस्पिटल १ सय शैया क्षमताको यस क्षेत्रकै सुविधा सम्पन्न अस्पताल हो ।






