बिमलराज भट्टराई
धर्मले आस्था दियो, कृषिले जीवन दियो, प्रकृतिले अस्तित्व दियो ।

नेपाल प्रकृतिपूजक, संस्कृतिप्रेमी र कृषिमा आधारित सभ्यता भएको देश हो । हाम्रो सनातन परम्परामा धर्म केवल पूजा–आराधनाको विषय होइन, यो मानव जीवन, प्रकृति, कृषि, पशुपन्छी र सामाजिक सम्बन्धलाई जोड्ने जीवनपद्धति पनि हो। तिहार यसैको एउटा सुन्दर उदाहरण हो ।

नागपञ्चमीदेखि कुशेऔँसी, सोह्रश्राद्ध, दशैँ हुँदै तिहारसम्मका हाम्रा पर्वहरू प्रकृति, पूर्वज, जीवजन्तु र मानव सम्बन्धसँग जोडिएका छन्। तिहारका पाँच दिनमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वत, लक्ष्मी र दाजुभाइ तथा दिदीबहिनीको सम्मान र पूजा गरिन्छ। यसले मानिस र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्छ।

हाम्रो संस्कृतिले नागलाई प्रकृतिको जलस्रोत र वातावरणसँग जोडेर सम्मान गर्‍यो । कुशलाई पवित्रताको प्रतीक बनायो। कागलाई सन्देशवाहक, कुकुरलाई रक्षक, गाईलाई माता, गोरुलाई कृषि कर्मको सहयोगी र गोवर्धनलाई प्रकृति तथा पर्यावरण संरक्षणको प्रतीकका रूपमा स्थापित गर्‍यो । धन्वन्तरि पूजाले आयुर्वेद,जडीबुटी र स्वास्थ्यको महत्त्व सम्झायो भने लक्ष्मीपूजाले श्रम, उत्पादन, व्यापार र समृद्धिको कामना गर्न सिकायो ।

विशेषगरी कृषि र तिहारको सम्बन्ध अत्यन्त गहिरो छ। किसानले वर्षभरि गरेको परिश्रम, खेतबारीमा उत्पादन भएको अन्न, पशुपालन र प्रकृतिको अनुकूलतासँग हाम्रो चाडपर्व जोडिएका छन्। गाईको गोबर, गहुँत, कृषि मल, गोरुको श्रम,अन्नबाली र वनस्पतिले मानव जीवनलाई प्रत्यक्ष सहयोग पुर्‍याउँदै आएका छन् । त्यसैले कृषि संस्कृतिलाई सम्मान गर्नु भनेको मानव जीवन र सभ्यताको संरक्षण गर्नु हो।

धर्मले मानव जगतलाई आस्था दियो, कृषिले जीवन धान्ने आधार दियो, प्रकृतिले बाँच्ने वातावरण दियो र पशुपन्छीले मानव जीवनलाई सहयोग गरे । देउसी–भैलोले सामाजिक सम्बन्धलाई प्रगाढ बनायो भने भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र चेली–माइतीको सम्बन्धलाई अझ जीवन्त बनायो ।

हाम्रा पूर्वजहरूले निर्माण गरेका यी संस्कार र परम्पराहरू केवल धार्मिक कर्मकाण्ड होइनन्। यिनको पछाडि सामाजिक, सांस्कृतिक, पर्यावरणीय र जीवनोपयोगी महत्त्व लुकेको छ । आज विश्वले वातावरण संरक्षण, जैविक विविधता, दिगो कृषि, योग, आयुर्वेद र प्राकृतिक उपचार पद्धतिको महत्त्व बुझ्दै गएको छ । वेद, उपनिषद्, संस्कृत भाषा, योग र आयुर्वेदप्रति विश्वका विभिन्न मुलुकमा बढ्दो अध्ययन र अनुसन्धानले पनि हाम्रो प्राचीन ज्ञानपरम्पराको महत्त्वलाई थप उजागर गरेको छ ।

हामीले आफ्ना संस्कार र संस्कृतिको संरक्षण गर्दा वैज्ञानिक दृष्टिकोण, अनुसन्धान र समयानुकूल सुधारलाई पनि आत्मसात् गर्नुपर्छ । परम्पराको सम्मान गर्नु भनेको त्यसको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्नु पनि हो ।

आज गाउँबाट सहरतर्फ बढ्दो बसाइँसराइ, कृषियोग्य जमिनको खण्डीकरण र कृषि पेसाप्रतिको घट्दो आकर्षणका बीच तिहारले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ—कृषि, प्रकृति र पशुपन्छीको संरक्षणबिना मानव सभ्यताको समृद्धि सम्भव छैन । आधुनिक विकासको नाममा हामीले आफ्नो कृषि सभ्यता र प्राकृतिक सम्पदालाई बिर्सनु हुँदैन ।

अन्ततः तिहार बत्ती बाल्ने, मिठाई खाने र रमाइलो गर्ने पर्व मात्र होइन । यो प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने, कृषि र श्रमको सम्मान गर्ने, पशुपन्छीको संरक्षण गर्ने, धनसम्पत्तिको सदुपयोग गर्ने र पारिवारिक तथा सामाजिक सम्बन्धलाई बलियो बनाउने हाम्रो मौलिक वैदिक जीवनपद्धतिको उत्सव हो ।

हाम्रा संस्कार बचाऔँ, संस्कृति जोगाऔँ, कृषि र प्रकृतिको सम्मान गरौँ। यही नै दिगो समृद्धि, सामाजिक सद्भाव र सुखी मानव जीवनको आधार हो ।

सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः।

(अधिवक्ता समेत रहेका भट्टराई बुटवल उद्योग बाणिज्य संघका निवर्तमान बाणिज्य उपाध्यक्ष हुन् )