काठमाण्डौ,१० असोज ।
जापानमा जारी २० औं एशियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । यो नतिजासँगै नेपाल समूह ‘ए’ मा २ खेलमा ३ अंक जोडेर विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहान वर्षाले खेल ढिला शुरु हुँदा १५ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । यो खेलमा सन्दीप जोराले अविजित ३२ बलमा ५७ तथा लोकेश बमले २२ बलमा ५२ रन बनाएका थिए । आसिफ शेखले २१ रन जोडे ।
जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान १/१ विकेट लिए । फेरि पानी परेपछि खेल हुन सकेन ।
अफगानिस्तान २ खेलमा २ अंकका साथ उपविजेता बन्यो । अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ । अफगानिस्तानले भारतसँग खेल्नेछ ।
आजै मलेसिया र ओमानबीच पनि खेल हुँदैछ । एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।






