पाल्पा,३ भदौ ।
पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार बिहान करिब ७ः३५ बजेको समयमा सडक माथिबाट ठूलो पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्लाकाे तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने प्वाइन्टभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोका कारण अबरुद्ध सडक खुलाउने तयारी भए पनि सडक माथिबाट निरन्तर पहिरो झरिरहेका कारण तत्कालै काम सुरु गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरो रोकिएपछि मात्र सडकमा थुप्रिएको माटो, ढुंगा तथा अन्य अवरोध हटाई यातायात सञ्चालनमा ल्याउने कार्य सुरु गरिने प्रहरीको भनाइ छ ।