काठमाडौँ,२ भदौ ।
पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नका लागि जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ ।
उपभासमुख रुवीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको टोली पक्राउ पूर्जीका लागि सोमबार जिल्ला अदालत पुगेको थियो । तर, जिल्ला अदालत, ललितपुरले पक्राउ पूर्जी जारी गर्न अस्वीकार गरेको हो ।
उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दिएको बताइन् । श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय क्षति पुर्याउने नियतले अत्यन्तै भ्रामक, असत्य, अनर्गल र निन्दनीय समाचार सम्प्रेषण गरेको उपसभामुख ठाकुरको आरोप थियो ।
प्रकाशित समाचारबाट आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा गहिरो चोट पुर्याएको जाहेरीमा उल्लेख छ । समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको दाबी उनको छ। उनैसँग अनैतिक सम्बन्धको आरोप लगाएर आफ्नो घोर बेइज्जत र चरित्र हत्या गर्ने प्रयास गरेको उजुरीमा उल्लेख छ ।
यसअघि अर्की युवतीसँग रास्वपा सांसदलाई जोडेर लेखेको समाचारको विषयमा श्रेष्ठ पक्राउ परेका थिए । वैयक्तिक गोपनियता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।





