सुर्खेत,२९ कार्तिक ।
मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पर्यटक बोकेर रारा ताल जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोरपियो आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वोइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनाका बेला स्कोरपियोमा पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रवीराज थपलियाका अनुसार घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याउने तयारी भइरहेको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






