काठमाडौँ,२९ कार्तिक ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले काठमाण्डु गाेर्खजलाई हराएसँगै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ ।

तेस्रो संस्करणअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखराले काठमाण्डुलाई ५५ रनले हरायो । पोखराले दिएको २२५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको काठमाण्डु १९ ओभर ५ बलमा १६९ रन बनाउँदा अलआउट भयो ।

काठमाण्डुका साहिल पटेलले २३ बलमा १ छक्का र ४ चौकासहित ३४, राशिद खानले २० बलमा २ छक्का र ३ चौकासहित ३१, सोनु देवकोटाले १४ बलमा ४ छक्कासहित २९, विलियम बोसिस्टोले २२ बलमा १ छक्का र ३ खेल २६ र जहनदाद खानले १२ बलमा ३ छक्कासहित २४ रन बनाए ।

पोखराका दिनेश खरेलले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । यस्तै विपिन खत्रीले ३ तथा रमेश मेन्डीस, युवराज साम्रा र सन्नी विकले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेलमा पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी २२४ रन बनाएको थियो ।

यसैगरी, आइतबारकै खेलमा पोखराका कुशल भुर्तेल र युवराज साम्राले दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गर्दै एनपीएल इतिहासकै सर्वाधिक ठुलो साझेदारीको रेकर्ड तोडेका छन् ।

पोखराका कुशल भुर्तेलले ५० बलमा ८ छक्का र ८ चौकासहित ९९ र युवराज साम्राले ५५ बलमा ५ छक्का र ८ चौकासहित ८९ रन बनाए । काठमाण्डुका कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए ।

यो जितसँगै पोखराले ७ खेलमा ४ अंकसहित तेस्रो संस्करण टुङ्ग्याएको छ । काठमाण्डु आज पराजित भएसँगै सुदूरपश्चिम क्वालिफायरमा पुगेको छ । सुदूरको ७ खेलमा १० अंकसहित दोस्रो स्थानमा छ भने काठमाण्डु ७ खेलमा ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

अब काठमाण्डुले पहिलो इलिमिनेटरमा चितवन राईनोजसँग खेल्नेछ भने पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो क्वालिफायरमा विजयी टोली उपाधिका लागि खेल्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्ने छ । यस्तै इलिमिनेटरमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्नुपर्नेछ ।

गएको कात्तिक ९ गतेदेखि सुरु भएको तेस्रो संस्करणको एनपीएलको फाइनल खेल आउँदो मंसिर ५ गते हुनेछ ।