बुटवल,२ भदौ ।
नेपाल प्रेस युनियन रुपन्देहीको जिल्ला अधिवेशन आगामी भदौ १५ गते सोमबार हुने भएको छ । युनियन रुपन्देहीको मंगलबार बसेको कार्यसमिति बैठकले अधिवेशनको मिति तय गर्दै त्यसको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको हो ।
अध्यक्ष कविन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले नेपाल प्रेस युनियन केन्द्रीय समितिले निर्धारण गरेको भदौ २५ गतेभित्र शाखाको साधारण सभा तथा अधिवेशन सम्पन्न गर्ने समयसीमाअनुसार रुपन्देहीको अधिवेशन भदौ १५ गते गर्ने निर्णय गरिएको युनियनले जनाएको छ ।
अधिवेशन सम्पन्न गर्न अध्यक्ष नेपालको संयोजकत्वमा पदाधिकारी तथा कार्यसमिति सदस्य सम्मिलित मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, अधिवेशनको तयारीलाई व्यवस्थित बनाउन विभिन्न सातवटा उपसमिति गठन गरेको छ ।
निवर्तमान अध्यक्ष, सल्लाहकार तथा केन्द्रीय सदस्य रेखा भुसालको संयोजकत्वमा अनुगमन, मूल्यांकन तथा समन्वय उपसमिति, उपाध्यक्ष दीपक घिमिरेको संयोजकत्वमा अतिथि स्वागत सत्कार उपसमिति र उपाध्यक्ष कल्पना तिवारीको संयोजकत्वमा सदस्यता नवीकरण उपसमिति गठन गरेको छ ।
त्यसैगरी सचिव कपिल ज्ञवालीको संयोजकत्वमा माइन्युट तथा प्रतिवेदन लेखन र प्रचारप्रसार उपसमिति, कार्यवाहक कोषाध्यक्ष भुवन जिसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा होटल, खाना र खाजा व्यवस्थापन उपसमिति, सहसचिव सीता गौतम (बराल)को संयोजकत्वमा सम्मान तथा मायाको चिनो व्यवस्थापन उपसमिति र सहसचिव कृष्ण भण्डारीको संयोजकत्वमा मञ्च तथा साउन्ड सिस्टम व्यवस्थापन उपसमिति गठन गरिएको युनियनले जनाएको छ । अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न युनियनका सदस्यसमेत रहेका अधिवक्ता जीवननारायण अधिकारीलाई प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।
युनियन रुपन्देहीले प्रदान गर्दै आएका विभिन्न पत्रकारिता पुरस्कार समेत प्रदान गर्ने तयारी गरिएको छ । युनियन रुपन्देहीले स्वर्गीय नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको जिपि कोइराला स्मृति पत्रकारिता पुरस्कार र टोप सुशिला शिक्षा पत्रकारिता पुरस्कार वितरणको तयारी गरेको हो ।
बैठकले युनियन रुपन्देहीले स्थापना गरी प्रदान गर्दै आएको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार र टोप–सुशिला स्मृति पत्रकारिता पुरस्कार वितरणका लागि पुरस्कार छनोट तथा मूल्यांकन समिति पनि गठन गरेको छ ।
जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कारका लागि यसअघि पुरस्कृत युनियनका पूर्वअध्यक्ष रामराज पोख्रेलको संयोजकत्वमा पूर्वअध्यक्ष भवानीप्रसाद पाण्डे र अध्यक्ष कविन्द्र नेपाल सदस्य रहेको समिति गठन गरिएको छ ।
टोप–सुशिला स्मृति पत्रकारिता पुरस्कारका लागि यसअघि पुरस्कृत सल्लाहकार माधव नेपालको संयोजकत्वमा पुरस्कार स्थापना गर्ने युनियन सदस्य कृष्ण पंगेनी र अध्यक्ष नेपाल सदस्य रहेको समिति बनाइएको सचिव कपिल ज्ञवालीले जानकारी दिए ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले यहि भदौ २५ गतेसम्म साधारण सभा तथा अधिवेशनको मिति तय गरेको छ । सोही अनुसार रुपन्देहीमा पनि सदस्यता नवीकरणलाई तीव्रता दिँदै अधिवेशनको तयारी अघि बढाउने निर्णय गरिएको उनले बताए ।






