काठमाडौँ,१ भदौ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) साँझ ६ बजे जनाएअनुसार हाल देशभर साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । अनि हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।

यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भने राति भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले सन्ध्याकालीन बुलेटिनमा उल्लेख गरेको छ ।