काठमाडौँ,२८ साउन ।
रोल्पाको थबाङमा पहिरोले घरहरु पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। घटनामा अरु ९ जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।
थवाङ गाउँपालिका- ५ कोटलबारामा गएराति अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठहरु पुरिँदा ३ जनाको मृत्यु भएको हो । घटनामा २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।
बुधबार राति ८:४० बजेतिर पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित स्थानीयका ६ वटा घरगोठ पुरिएका श्रेष्ठले बताए । ती घर-गोठमा मानिससँगै पशु, चौपायाहरू पनि पुरिएका छन् ।
‘अहिलेसम्म हामीलाई प्राप्त सूचनाअनुसार घटनामा तीन जनाको शव फेला परेको छ, अरु नौ जना बेपत्ता भएका छन्,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘दुई जनालाई घटनास्थलबाट गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।’
उनले पहिरोमा पुरिँदा मृत्यु भएका ३ जनामध्ये ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरको सनाखत भएको बताए ।
२२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर पहिरोमा परेर गम्भीर घाइते भएका छन् ।
घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्छ ।
राति ११:५५ बजे स्थानीयसमेतको सहयोगमा हिमाल र २५ वर्षीय संजयलाई घाइते अवस्थामा उद्धार गरिएको हो । उनीहरूलाई उपचारको लागि अस्पताल पठाउने पहल भइरहेको छ ।
घटनास्थलमा फोन सम्पर्कसमेत नहुँदा सूचना संकलनमासमेत समस्या भइरहेको श्रेष्ठले बताए ।
‘प्रहरी गएराति नै घटनास्थलमा पुगेर घाइतेको उद्धार र बेपत्ताको खोजिगरिरहेको छ,’ इन्सपेक्टर श्रेष्ठले भने, ‘मृतक र बेपत्ता कति घरका मानिस हुन्, त्यो पनि खुल्न बाँकी छल।’
उनले आज बिहान रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर श्रेष्ठ, प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखु पनि घटनास्थलमा जाँदै गरेको बताए ।
राति साढे नौ बजे घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
बिहीबार बिहान उज्यालो नहुँदै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट विपद् उद्धार सामग्रीसहित १३ जनाको प्रहरी टोली घटनास्थलतमा खटिएको छ ।






