रुकुम,२७ साउन ।
बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा रुकुमपश्चिमको सानीभेरी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

जिल्लाकाे सानीभेरी गाउँपालिका–१ टाउँकेलेखका २८ वर्षीय प्रेम रोकाय बुधबार बिहान नदीमा डुबेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार बिहान करिब १० बजेतिर नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा रोकाय नदीमा पसेका थिए । दाउरा निकाल्ने क्रममा अचानक नदीमा डुबेका उनी त्यसपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

घटनाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय चौरजहारी र प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले स्थानीयवासीसँगको सहकार्यमा रोकायको खोजी थालेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले नदीमा बेपत्ता रोकायको खोजी कार्य जारी रहेको जानकारी दिए । नदीको बहावमा बगेर बेपत्ता भएका रोकायको सम्भावित स्थानमा खोजी केन्द्रित गरिएको उनले बताए ।