कपिलवस्तु,२६ साउन ।
कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
तौलिहवा–भैरहवा सडकखण्डमा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु.८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–३ कटैयाभारीका २३ वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–७ पिपरहवाका अन्दाजी ३२ वर्षीय शेषराम पासी र सोही स्थानका अन्दाजी २५ वर्षीय दुर्गेश यादव घाइते भएका छ । उनिहरूलाई थप उपचारका लागि चौराहा अस्पताल, बुटवल पठाइएको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किएपछि दुर्घटना भएको हो । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
“घटनाको कारण र अवस्थाबारे थप अनुसन्धान भइरहेको छ । आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक कुँवरले बताए ।






