काठमाडौं,२५ साउन ।
सरकारले देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा ५ सम्म कुनै पनि प्रकारको आन्तरिक वा त्रैमासिक परीक्षा नलिन निर्देशन दिएको छ । सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले बालबालिकामा हुने मनोवैज्ञानिक दबाब अन्त्य गर्न परीक्षा प्रणाली बन्द गर्न भनेका हुन् ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ को बुँदा नम्बर ८९ अनुसार यो व्यवस्था लागू गरिएको पत्रमा उल्लेख छ । नयाँ व्यवस्था अनुसार आगामी शैक्षिक सत्रदेखि आधारभूत तह (कक्षा १–५) मा लिइने परम्परागत आन्तरिक परीक्षाहरू पूर्ण रूपमा बन्द हुनेछन् ।
कतिपय विद्यालयहरूले अझै पनि पुरानै शैलीमा त्रैमासिक परीक्षामार्फत मूल्यांकन गरिरहेको पाइएपछि लिखित निर्देशन दिइएको बताइएको छ ।
अबदेखि विद्यालयहरूले ‘विद्यार्थी मूल्यांकन मार्गदर्शन २०८३’ बमोजिम विभिन्न सूचक र मापदण्डका आधारमा विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ । विद्यार्थीको सिकाइ उपलब्धिलाई परीक्षाको अंकमा मात्र नहेरी उनीहरूको व्यवहार, सिर्जनशीलता र निरन्तर मूल्यांकनका आधारमा मापन गरिनेछ। एकाइले मूल्यांकनका सम्भाव्य तरिका र साधनहरू समेत विद्यालयहरूलाई उपलब्ध गराएको छ ।
स्थानीय तहहरूलाई समेत यो निर्णय कार्यान्वयनमा आवश्यक सहयोग र सहजीकरण गरिदिन भनिएको छ ।






